काठमाडौँ । देश तथा विदेशमा रहेका नेपाली महिलालाई आर्थिक प्रलोभनमा पारेर अश्लील भिडिओ बनाउने र सामाजिक सञ्जालमार्फत बिक्री गर्ने गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घर भई हाल काठमाडौँको टोखा बस्ने २९ वर्षीय रमेश थापालाई शुक्रबार पक्राउ गरेको हो ।
आरोपी थापाले टिकटक, टेलिग्रामजस्ता सामाजिक सञ्जाल प्रयोग गरी ‘नेपाली काण्ड’ नामका समूह बनाएर यस्तो धन्दा चलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार थापाले टिकटक लाइभमा ‘क्वाइन’ (भर्चुअल मुद्रा) दिने बहानामा महिलालाई अश्लील क्रियाकलापमा संलग्न गराउने गरेका थिए । उनले आर्थिक प्रलोभन देखाएर सहमतिमै यस्तो कार्यमा लगाइएको देखिन्छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले थापालाई टोखाबाट पक्राउ गरेको हो । पक्राउ परेका थापालाई जिल्ला अदालत, काठमाडौंबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको परिसरले जनाएको छ । आरोपी थापामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ (अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने) बमोजिमको कसुरमा अनुसन्धान अगाडि बढाइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google