काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाईले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाईटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । आज भाईटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।
दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाईले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google