
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका कृषिविज्ञ मदन राईको रास्वपासँग कुनै सम्बन्ध नरहेको प्रस्ट पारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराएका हुन् । मदन राई रास्वपाको सल्लाहकार रहेको भन्दै सामाजिक सञ्जालमा चर्चा चलेपछि रास्वपाले विज्ञप्ति नै निकालेको हो ।
शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनलाई गरेको थियो । उनले आफ्नो विद्यालयमा आबद्ध बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउनेलगायत दूराचार गरेको बिहीबार सेतोपाटीमा समाचार प्रकाशित भएको थियो ।
यस्तो छ, रास्वपाकाे विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषि विज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टीले भाद्र ११, २०७९ मा खुला मञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रुपमा स्थान दिइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रुपमा निम्ता गरिनु तत्कालिन अवस्थामा अस्वभाविक थिएन । सो कार्यक्रम पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराउँदछौँ । साथै, मदन राईले किशोर किशोरीसँग गरेको दुर्व्यवहार निन्दनीय छ । उनलाई कानुन बमोजिम कारबाही हुनु पर्छ भन्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google