काठमाडौं । पूर्वी नेपालर्तफ जाने बीपी राजमार्ग बाढीका कारण अवरुद्ध भएको छ । लगातारको वर्षापछि राजमार्गका विभिन्न ठाउँमा बाढी र पहिरो झरेको छ ।
राजमार्गअन्तर्गतका कयौँ खहरेमा उर्लिएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको हो ।
काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११, कालढुङमा खहरेको बाढीले सडकको केही भाग नै बगाएर लगेको छ ।
त्यसका कारण सयौँ गाडी र हजारौँ यात्रु चार घण्टादेखि अलपत्र अवस्थामा छन् ।
बीपी राजमार्गको नेपालथोक-धुलिखेल खण्डअन्तर्गत काभ्रेको मंगलटारमा लेदोसहितको पहिरो झरेर यातायात अवरुद्ध भएको छ ।
उता सिन्धुलीको दुम्जामा माथिबाट लेदो खसेर राजमार्ग अवरुद्ध भएको छ। अर्कातिर मात्ती र भ्याकुरे खोलामा बाढी आएर सवारी आवतजावत पनि बन्द भएको छ ।