१६ वर्षदेखि मलेसियामा सम्पर्कविहीन विनोद

दर्पण दैनिक २३ पुष २०८०,०७:५७
post

झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए ।

'२२ वर्षको हुँदा मलेसिया गएको थियो', विनोदकी ६६ वर्षीया आमा सुकमायाले भनिन्, 'अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन ।' उनी मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर्कमा थिए ।

विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा–बुबाको हेरचाह गरेर बसेका छन् भने कान्छा भाइ टेकबहादुर विदेश जाने क्रममा छन् । दुईजना बहिनी रुमा र लीलाको बिवाह भइसकेको छ ।

विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै छन् । '१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन', उनले भने ।

सुकमायाले रु ९० हजार ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा (डोले) मार्फत काठमाडौंको मेनपावरबाट मलेसिया पठाएको बताइन् । उनले मलेसिया गएपछि विनोदले रु ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप रु २० हजार पठाएको बताइन् ।

आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गरेका छन् ।

स्थानीय हरिचन्द्र राउतले नौ वर्षअघि मलेसियामा विनोदसँग भेट भएको बताएका छन् । त्यसबेला विनोदले पेनाङस्थित बल्छी बनाउने कम्पनीमा काम गरिरहेको आफूलाई बताएको हरिचन्द्रले बताए ।

मलेसियामा हरिचन्द्र र विनोदको कोठा नजिकै रहेको थियो । उनीहरुको खाना खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहीँ भेट भएको हरिचन्द्रले बताए ।

अवधि पुगेर हरिचन्द्र स्वदेश फर्किए । विनोद कुन मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए भन्ने बारेमा उनका बुबा र आमाले बताउन सकेनन् । तर, मेनपावर कम्पनीसम्म पुर्‍याउने नातेदारले मेनपावरसँग सम्पर्क गराउने आश्वासन दिएको बताइएको छ । रासस

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: