राजनीतिको चपेटामा लेले-चन्दनपुर सडक, ५ लाख बजेट हाल्नेलाई १० लाख पुरस्कार दिने पालिकाप्रमुखको घोषणा

सन्तोष दहाल ३ असार २०८०,०८:३९

संघीय सांसद मुकदर्शक, प्रदेशको बजेट धादिङ, नुवाकोट र सिन्धुपाल्चोक केन्द्रित

post

सन्तोष दहाल, ललितपुर ।  दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका र महाङ्काल  गाउँपालिका जोड्ने लेले चन्दनपुर सडक जीर्ण भएको धेरै वर्ष भो, तर यसको मर्मत र स्तरोन्नतिको नाममा राजनीतिक दलका नेताहरुले फोहोरी राजनीति नछोड्दा उक्त सडक निर्माण अनिश्चित देखिएको छ । 

आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि संघीय सरकार र प्रदेश सरकारको बजेट आईसक्दा अपेक्षा र माग गरिएको जति रकम दुवै तहबाट पर्न नसकेपछि राजेनीतिक दलका नेता तथा जनप्रतिनिधिहरु नै आग्रह पूर्वाग्रहमा उत्रन थालेका छन्। महाङ्काल गाउँपालिका प्रमुख गणेश केसीले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेले- चनादनापुर सडकका लागि ५ लाख मात्र बजेट आएको भन्दै बजेट पारिदिनेलाई आफ्नो तर्फबाट १० लाख पुरस्कार दिने घोषणा गरेका छन् ।  केही समयअघि मात्र प्रदेश सरकारले बहुवार्षीय योजनामा समावेश गरेको उक्त आयोजनामा यथेष्ट बजेट नपारेर संघ र प्रदेशले लोप्पा खुवाएको केसीको गुनासो छ । 


गत वैशाख २२ गते गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन उद्घाटनमा प्रमुख अतिथि बनेर पुगेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले लेले चन्दनपुर सडक रणनीतिक महत्त्वको भएको र यसलाई ठुलादुर्लुंग, मकवानपुर फापरबारी हुँदै धरान चतरा सडकसम्म जोड्नका लागि पहल गर्ने बताएका थिए ।  तर प्रदेशको आगामी आर्थिक वर्षको बजेटमा यथेष्ट बजेट पर्न नसक्दा दक्षिण ललितपुरवासी निराश देखिएका छन् । 


यसै क्षेत्रबाट निर्वाचित एमाले बागमती प्रदेश सभा संसदीय दलको सचेतकसमेत रहेका सांसद मधुसुदन पौडेलले प्रदेश सरकारबाट आएको बजेट निराशाजनक भएको र यसले मुख्यमन्त्रीको गृहजिल्ला धादिङ्ग, प्रदेश तथा संघीय अर्थमन्त्रीको जिल्ला नुवाकोट र भौतिक पूर्वाधारमन्त्रीको जिल्ला सिन्धुपाल्चोकलाई मात्र सम्बोधन गर्ने गरी आएको बताए । आफूहरुले सङ्कलन गरेर माग गरी पठाएका योजनाहरु पुरै उपेक्षित गरिएको तथा २ करोड मागेका योजनामा ५/१० लाख मात्र हालिएको उनले बताए।  ३ जिल्ला बाहेकका अन्य जिल्लामा सत्तापक्षकै सांसदहरु पनि बजेटबाट असन्तुष्ट रहेको पौडेलको भनाई छ । 

लेले-चन्दनपुर सडकको सन्दर्भमा कतिपय कमजोरीका बाबजुद धेरै प्रयत्नपुर्वक लेले-चन्दनपुर-ठुलादुर्लुङ मोटरबाटोलाइ बागमती प्रदेश सरकार बाट जम्मा १२ करोड रुपैयाँ विनियोजन प्रस्ताव गराइएको पौडेलले उल्लेख गरेका छन् । आफूले २५ करोड विनियोजनको प्रस्ताव गरेको भए तापनि प्रदेशको गठबन्धन सरकारले भनेजति रकम विनियोजन नगरेको भन्दै पौडेलले सरकार दक्षिण ललितपुर प्रति पूर्वाग्रही बनेको आरोप लगाए । साथै आफ्नो अथक पहलमा गोदावरी ५ देखि कोन्ज्योसोम १ चौघरे जोड्ने सडक शीर्षकमा ६ करोड र चन्दनपुर-नमन हुँदै ठुलादुर्लुङसम्मको सडक शीर्षकमा ६ करोड बजेट विनियोजन गराएको पौडेलले जानकारी दिएका छन् । 

उता चुनावको समयमा लेले चन्दनपुर सडकलाई मूल राजनीतिक मुद्दा बनाएर जनतामाझ मत माग्न पुगेका संघीय सांसद उदयसमशेर राणा यतिबेला यस सडकको मामलामा मुकदर्शक देखिन्छन । संघीय सरकारको आगामी आर्थिक वर्षको बजेटमा लेले चन्दनपुर सडकको लागि कुनै योजना छैन । आफूले योजना पार्न नसक्ने भएपछी नै राणाले महाङ्काल गाउँपालिकाको भवन उद्घाटनमा बजेटको लागि फ़काउनको लागि मुख्यमन्त्री जमकटेललाई प्रमुख अतिथि बनाएर लागेका थिए । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको अति निकट रहेका राणा चुनावको समयमा भावी अर्थमन्त्रीको रुपमा काँग्रेस तथा गठबन्धनको तर्फबाट प्रचार गरिएका थिए । यद्यपि राणाले  सत्ता गठबन्धनको सरकारमा कुनै पनि मन्त्रालयको जिम्मेवारी पाउन सकेनन् ।  

दक्षिण ललितपुरमा लेले-चन्दनपुरसहित कान्ति लोकपथ र मध्यमार्गी सडक प्रमुख रणनीतिक महत्त्वका सडक हुन् ।  तर हरेक समयमा राजनीतिको शिकार बन्दा यी सडक योजनाहरु समयमा अघि बढ्न सकेका छैनन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: