‘घरघरमा सांसद’ अभियान

दर्पण दैनिक २६ माघ २०७९,११:५३
post

विराटनगर । विराटनगर महानगरपालिका–६, कलरुवाकी अमलादेवी तुराहलाई आफूहरूले बस्दै आएको जमिन छाड्नुपर्ने हो कि भन्ने चिन्ताले सताइरहन्छ । ऐलानी जग्गामा उनीहरूको घरटहरा छ । आफ्नै निजी जमिन र घर होस् भन्ने चाहना रहेको उनी बताउँछिन् ।

सोही ठाउँका सूदन यादवलाई पनि घरजग्गा नहुनुको पीडाले सताइरहन्छ । 'अहिलेसम्म त ओत लाग्न पाएका छौँ, तर कहिले के हुने हो, ठेगान छैन,' यादवले भने, 'हामी जग्गाजमिन नहुने साधारण मानिसलाई आफ्नै घरबास भइदिए हुने थियो भन्ने मात्र चिन्ता छ ।'

अमलादेवी र सूदनले गाउँमा स्थानीयको समस्या बुझ्न आएका प्रदेश नम्बर–१ का प्रदेशसभा सदस्य केदार कार्कीसमक्ष पनि त्यही चिन्ता बिसाए । यादवले भने, 'हामीले जसोतसो गरिखाएकै छौँ, तर नेताज्यू, हामीले टाउको ओत लगाउने घरबासको व्यवस्था गरिदिनुहोस् ।'

कार्की सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । आफ्नो निर्वाचन क्षेत्रका बासिन्दाको समस्या बुझ्न उनले ‘घरघरमा सांसद’ अभियान सञ्चालन गरेका छन् ।

उनी अहिले स्थानीयसँग साक्षात्कार गर्न मतदाताको घरदैलो पुगिरहेका छन् । 'नेता चुनाव जितेर गएपछि गाउँ नर्फने भन्ने आरोप लाग्ने गरेको छ,' कार्कीले भने, 'त्यही कुरालाई चिर्न म स्थानीयको समस्या बुझ्न घरघर पुगिरहेको छु ।'

कलरुवा महानगरभित्र भएर पनि पिछडिएको अवस्थामा रहेकाले प्रदेश सरकारको लगानीमा मूल सडक निर्माणको कार्य अघि बढाइएको उनले बताए । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र भौतिक पूर्वाधार निर्माणमा भएका समस्या समाधान गर्न तीनै तहका सरकारसँग समन्वय गरी अघि बढ्ने आफ्नो योजना रहेको उनले स्थानीयलाई सुनाए ।

अमलादेवी एकाबिहानै आफ्नो घरमा आफूले जिताएर पठाएका सांसद आएपछि एक छिन अकमक्क परिन् । उनले घरबासको समस्या बताइन् । छेवैमा उभिएका हरिनारायण यादवले गहुँ र मकैमा मलखाद हाल्ने बेला भए पनि नपाइएको भन्दै समन्वय गरिदिन आग्रह गरे । यादवले भने, 'नेताज्यू, अब मकैमा ठिक्क युरिया हाल्ने बेला भयो, तर हामीले पाएका छैनौँ । तपाईंले सरकारलाई हाम्रो समस्या भनिदिनुपर्‍यो ।' कार्कीले प्रदेश सरकारको ध्यानाकर्षण गरेर मलखादको उचित प्रबन्ध गर्न सहयोग गर्ने आश्वासन दिए ।

सम्बन्धित खबर

post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: