
काभ्रेपलाञ्चोक । गत वर्षको असोजमा अविरल वर्षासँगै ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका २ जनाको सशुसल उद्धार गरी चर्चामा आएका चणिकलाल तामाङलाई तेमाल गाउँपालिकाले नगद सहित सम्मान गरेको छ । मंगलबार गाउँपालिकाको १७औँ अधिवेशनमा तामाङलाई १ लाख ११ हजार १ सय रुपैयाँ नगद सहित सम्मान गरिएको हो ।
काभ्रेको तेमाल गाउँपालिकाले तेमाल–९, चोपाटारका स्थायी बासिन्दा चणिकलाललाई तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले सम्मान पत्र र नगद सहित सम्मान गरे ।
नख्खु खोलाको बाढीमा बगेका २ जनाको ज्यान जोगाएर साहसिक काम गरी तेमाल गाउँपालिकाको नाम उच्च बनाएकोमा उनलाई सम्मान गरिएको पालिका अध्यक्ष तामाङले बताए ।
गत असोज १२ गते नख्खु खोलाको बाढीले बगाएका रौतहट घर भई ललितपुर महानगरपालिका–२५ सुगम बस्ती टोल बस्ने ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई चणिकलालले उद्धार गरेका थिए ।
सरकारी संयन्त्र निरिही बन्दा घण्टौँसम्म उद्धार नगरेको आलोचना भइरहँदा चणिकलालको साहसले २ जनाको जोगिएको भन्दै उनलाई विभिन्न संघ संस्थाले सम्मान गरिसकेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google