धनगढी । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका थिए । रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने छ । नवनियुक्त मुख्यमन्त्री शाहको शुक्रबार शपथ ग्रहण गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेस १९, माओवादी केन्द्र १० (सभामुख बाहेक), एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादी ४, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् ।
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त कमल शाह ?
अछाम जिल्ला रामारोशन गाउँपालिका–५ तडिगैरामा २०२८ साल फागुन १० गते जन्मेका शाह हाल कैलालीको लम्की चुहा नगरपालिका–१ मा स्थायी रूपमा बसोवास गर्दै आएका छन् ।
उनले विद्यालय शिक्षा अछाम र कैलालीबाट अघि बढाएका थिए । शाह २०४४ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहेका थिए । शाहले २०४६ सालदेखि २०५२ सालसम्म नेपाल विद्यार्थी संघको क्याम्पस इकाइ समिति सदस्य र पार्टीको महाधिवेशन प्रतिनिधि भएर काम गरेका थिए ।
त्यसैगरी उनले २०५४ सालदेखि २०६८ सालसम्म विभिन्न समयमा नेपाल तरुण दलको केन्द्रीय खेलकुद विभागीय सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्ष पदमा रहेर पनि काम गरेका थिए । उनी २०५३ सालदेखि हालसम्म नेपाली कांग्रेसको नौ, दशौं, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहेका छन् ।
शाह २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार रहे पनि पराजित भएका थिए । उनी २०६४ र २०६२/०६३ सालको जनआन्दोलनका क्रममा पटक पटक गरी ४ महिना जेल परेका थिए । हाल लम्कीचुहा–१ लम्कीमा बस्दै आएका उनी मंसिरमा ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र 'क' बाट निर्वाचित भएका थिए ।
सरल, शिष्ट, जिज्ञासु, सहयोगी स्वभावका शाहले आफ्नो ठाउँका लागि थुप्रै सहयोग तथा विकासका काम गर्दै आएका छन् । उनले कोरोना संक्रमणकालमा कैलाली क्षेत्र नम्बर २ का सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकाको नि:शुल्क कोरोना बिमाका साथै सोल्टामा रहेको स्वास्थ्य चौकीलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरेर सहयोग गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google