काभ्रे । महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को लागि ६० करोड १३ लाख १ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तानले उक्त बजेट गाउँ सभामा पेश गरेका हुन् ।
महाभारत गाउँपालिकाले संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत ८ करोड ४३ लाख, सशर्त अनुदान चालूतर्फ १९ करोड ८७ लाख, सशर्त अनुदान पूँजीगत २० लाख, विशेष अनुदान पूँजीगततर्फ ६९ लाख, समपूरक अनुदान पूँजीगत १ करोड ९६ लाख, राजश्व बाँडफाँटतर्फ ८ करोड ५८ लाख ७० हजार गरी कूल ३९ करोड ७३ लाख ७० हजार रुपैयाँ अनुमानित अनुदान प्राप्त गरेको छ ।
त्यस्तै, प्रदेश सरकारबाट, वित्तीय समानीकरण अनुदान अन्तर्गत ७८ लाख ७९ हजार, सशर्त अनुदानतर्फ १ करोड ८४ लाख ५७
हजार, विशेष अनुदानतर्फ ८० लाख, समपूरक अनुदानतर्फ ४ करोड २४ लाख, प्रदेश सवारी करतर्फ ३ करोड ११ लाख ७७ हजार ३ सय ३८ रुपैया १० पैसा गरी कूल ११ करोड २९ लाख १३ हजार ३ सय रुपैयाँ अनुमानित अनुदान प्राप्त गरेको छ ।
त्यस्तै, गाउँपालिकामा आव ०८२।०८३ को आन्तरिक राजस्व आय प्रक्षेपण ३० लाख, चालू आवको अनुमानित नगद बैंक मौज्दात ८ करोड ८० लाख १८ हजार गरी जम्मा ९ करोड १० लाख १८ हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।
बजेटमा कृषिलाई विशेष प्राथमिकता दिइएको छ । महाभारत गाउँपालिकालाई कृषि पर्यटकीय हवको रुपमा विकास तथा विस्तार गर्न फोक्सिङटार, सोतेल लामिडाँडा, ठुलोपोखरा, चाउडिक, लामाटोल, सल्लेनी तथा महादेवटार लगाएतका क्षेत्रहरुमा सघन कफी खेती प्रवर्द्धन गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न बजेट व्यवस्था गरिएको छ ।
कफी खेतीलाई व्यवसायीकरण तथा कृषकलाई प्रोत्साहित गर्न ‘जसले रोप्छ कफीको बोट उसले पाँउछ रु बीस को नोट’ कार्यक्रमको लागि बजेट विनियोजन गरिएको उपाध्यक्ष सागर मोक्ताने बताए ।
मोक्तानका अनुसार मौसमी तथा वेमौसमी फलफूल तथा तरकारी (तरबूजा र अकबरे खुर्सानी) को उत्पादन बढाउन विभिन्न प्रविधिमा आधारि रहेर कार्यक्रम सञ्चालन गरिनेछ । प्रत्येक वडामा एक वडा एक बाली उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्न एक वडा एक उत्पादन कार्यक्रम लाई निरन्तरता दिइनेछ ।
स्थानीय स्तरमा नै गुणस्तरीय तरकारी एवम् फलफुलको बिउ तथा विरुवाको सहज उपलब्धता गराउन एक वडा एक नर्सरी स्थापना गरिनेछ । बढ्दो जलवायु परिवर्तन तथा जोखिम न्यूनीकरण गर्न भिरालो जमिनमा फलफुल खेती विस्तार कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
बजेटमा कृषि कार्यक्रमहरूको सूचनालाई नियमित कृषक समक्ष पुर्याउन सूचना सम्प्रेषणलाई थप प्रभावकारी बनाईने उल्लेख छन्।त्यस्तै, माटोको दीर्घकालीन उपज क्षमतालाई संरक्षण गर्न प्रत्येक दुई वर्षको अन्तरालमा सबै कृषकको माटो परीक्षण अनिवार्य गराइनेछ र माटोको अवस्थाबारे जानकारी समेटिएको माटो स्वास्थ्य कार्ड किसानलाई प्रदान गरिनेछ ।
कृषि पेशालाई आधुनिकीकरण व्यवसायीकरण तथा प्रतिस्पर्धात्मक बनाउन आधुनिक कृषि यन्त्रीकरण जस्तै मिनिटिलर, प्लाष्टिक पोखरी, मल्चिङ प्लाष्टिक थोपा सिँचाइ जस्ता अनुदान उपलब्ध गराईनेछ । संघीय तथा प्रदेश सरकार बाट प्राप्त हुने अनुदानको रासायनिक मल कोटा थपको लागि आवश्यक पहल गरिनेछ ।
गाउँपालिकामा रहेका कृषकको विवरण, बाली उत्पादन हुने क्षेत्र र उत्पादनको अवस्था एकिन गर्न वार्षिक रुपमा तथ्याङक संकलन तथा प्रमाणीकरण गरी किसानलाई कृषक परिचय पत्र दिने व्यवस्था गरिनेछ ।
महाभारत गाउँपालिकामा पशुपालन गरिहेका कृषकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउनको लागि अनिवार्य रुपमा निःशुल्क पशु औषधिको व्यवस्था गरिने बजेटमा उल्लेख छ ।
सभामा बजेट प्रस्तुत गर्दै अपाध्यक्ष मोक्तानले भने, ‘कृषकहरुलाई प्राविधिक सेवा उपलब्ध गराउनको लागि ूएक गाउँ एक पशु सेवा प्राविधिकू को व्यवस्थालाई निरन्तरता दिईनेछ । पशु बन्ध्याकरण तथा बाँझोपन निवारण शिविर कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरेको छु । स्थानीय श्रोत संरक्षण प्रवर्द्धनको लागि आवासीय ूरैथाने कुखुरा प्रवर्द्धनू तालिम कार्यक्रम सञ्चालन गरिनेछ । सामुदायिक छाडा कुकुरहरुबाट रेबिज जस्ता प्राणघातक रोगहरुको न्यूनीकरणका लागि रेबिज खोप तथा बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिनेछ । साना कृषकहरुलाई लक्षित गरि प्राविधिक ज्ञानको अभाव नहोस् भन्ने हेतुले ‘कृषकस्तरिय प्राविधिक पुस्तिका ’ प्रकाशन तथ वितरण गरिनेछ ।’
कृषक समूहहरुलाई प्रोत्साहनस्वरुप ८० प्रतिशत अनुदानमा व्याडको बोका, राँगो तथा बंगुर खरिद तथा वितरण गरिनेछ ।
कृषकहरुको आयस्तरमा वृद्धि गर्ने उद्धेश्यले गाईभैंसी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ । पशु चौपायामा लाग्ने खोरेत रोग नियन्त्रण कार्यक्रमको लागि बजेट ब्यवस्था गरेको उपाध्यक्ष मोक्तानले बताए । पशुपंक्षीको आहारामा सुधार गर्न साईलेज प्रवर्द्धन कार्यक्रम लागू गरिने बजेटमा उल्लेख छ ।
पूर्णपाठ हेर्न याे लिंकमा जानुहाेस https://mahabharatmun.gov.np/
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google