काठमाडौं । दोहोरो हेलमेट अनिवार्य गर्नेबारे प्रारम्भिक छलफल भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दोहोरो हेलमेट अनिवार्य गर्नेबारे प्रारम्भिक छलफल भएको हो । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको उक्त छलफलमा यस सन्दर्भमा चासो राख्ने विभिन्न सरकारी र सामाजिक निकाय तथा व्यक्तित्वहरूको उपस्थिति थियो ।
त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नागरिक स्वयंले हेलमेटले दिने सुरक्षाको महत्त्व बुझ्नुपर्ने भएकोले यसका लागि जनचेतनामुलक कार्यक्रम जरुरी भएको बताए । ‘जीवन सुरक्षा सामाजिक सुरक्षा पनि हो । नागरिकलाई त्यसका लागि उत्प्रेरित गर्ने दिशामा हामी छौं,’ उनले भने ।
छलफलमा सहभागी एमाले नेता, सांसद एवं ‘रोड सेफ्टी एलायन्स’का कोअर्डिनेटर योगेश भट्टराईले धेरैजसो दुर्घटनामा दुई पाङ्ग्रे साधननै पर्ने गरेकोले आवश्यक सुरक्षामा लापरबाही गर्दा युवा पुस्ताले अनाहकमा ज्यान गुमाउनु परिरहेको बताए । ‘रोड सेफ्टी काउन्सिल’ निर्माण गर्न समेत अनिवार्य भैसकेको, अन्तर्राष्ट्रिय रुपमै हेलमेट बाध्यकारी हुँदै गएको र यसका लागि आम जनचेतना हुनुपर्ने उनले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा’ समीर अधिकारीले कुल दुर्घटनाको ६९ प्रतिशत दुर्घटना दुई पाङ्ग्रे साधनको हुने गरेको एक अनुसन्धान तथ्यांक सुनाउँदै हेलमेट अनिवार्यताको कुरा आउँदा गलत अर्थ लगाइने गरेको बताए ।
झण्डै २५ वर्ष अगाडि प्रहरीले हेलमेट अनिवार्य गर्ने नियम ल्याउँदा त्यसलाई विवादित बनाइएपछि बीचमै रोकिएको थियो । प्रहरी नायब महानिर्देशक (डीआईजी) मीरा चौधरीले आफ्नो सुरक्षाको अपनत्व स्वयं जनताले नै नलिएसम्म नियमहरू लागू गर्न सहज नहुने बताइन् ।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधि ग्याम्पो दोर्जीले 'डबल हेलमेट’को प्रचलन अन्तर्राष्ट्रिय रुपमै अनिवार्य भैसकेको तर हेलमेट भने गुणस्तरीय हुनुपर्ने बताए । छलफलमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मासहित विभिन्न विभाग प्रमुख तथा निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।