
काठमाडौं । आईएमई लिमिटेड र जीएमई रेमिटको मर्जरपछिको एकीकृत कारोबार शुरु भएको छ । आज बुधवारदेखि आईएमई र जीएमई रेमिट मर्जरमा गएर एकीकृत कारोबार शुरु गरेका हुन् ।
एक करोड चुक्ता पुँजीको आइएमई अहिले एक अर्बभन्दा बढीको कम्पनी भएको छ । आईएमई ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको आईएमईको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा सुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको सुनाए ।
एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै ढकालले भने, ‘अहिले आईएमईसँग जोडिएका २० हजार बढी कर्मचारीहरू हुनुहुन्छ । लाखौँ सेवाग्राही हुनुहुन्छ । हामीले आईएमईलाई चाडै नै पब्लिकमा लैजादैँछौ । जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो ।’
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरूको पूर्ण पालना गरेर अगाडी बढेको उनको भनाइ छ । अहिले राष्ट्र बैंकले रेमिट कम्पनीको मर्जरको नीति लिएको छ । त्यस नीतिको पनि आफूहरू पहिलो कार्यान्वयनकर्ता बनेका उनको बताए ।
‘रेमिट्यान्सको आकार बढेको छ । डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भइसकेको छ’, उनले अगाडी भने, ‘यसले गर्दा रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारकाबारे पनि सोच्नुपर्ने बेला आएको महसुस हामीले गरेका छाैँ । यसमा नेपाल राष्ट्र बैंकले पनि पक्कै केही गर्नेछ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google