काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो ६८औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेकोे एक समारोहका बीच हिमालयन बैंकलाई सम्मान गरेको छ ।
केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंकलाई सम्मान गरेको हो ।
सो समारोहमा सम्मानस्वरुप नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन् ।
हिमालयन बैंकले आ.व. २०७८/७९ मा देशमा भित्रिएको कुल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएको थियो ।
करिब दुई दशकदेखि आफ्नो विप्रेषण सेवा “हिमालरेमिट”मार्फत ग्राहकहरुलाई समयानुकूल सेवा–सुविधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ ।
बैंकले संसारभरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जालमार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रित प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ ।
हाल बैंकले देशभरि फैलिएका हिमालरेमिटका १८ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ भने बैंकले देशभरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएमहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा पनि प्रदान गर्दै आएको छ ।