काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले व्यवसायीको मनोवल उच्च राख्ने वातावरण बनाउन सरकार संग माग गरेको छ । पछिल्ला दिनमा उद्यमी व्यवसायीले आत्मदाह, आत्महत्या गरेको दुःखद् घटनाले नेपाली समाज र उद्योगी व्यवसायीमा चिन्ता एवं निराशाको वातावरण सिर्जना गरेको भन्दै उस्ले मनोवल उच्च राख्ने वातावरण आवश्यक भएको बताएको हो ।
महिनौंदेखि शिथिल रहेको नेपाली अर्थतन्त्रलाई गतिशील बनाउन यतिबेला सरकार र निजीक्षेत्र दुवै पक्षबाट केही सुधारका सकारात्मक प्रयास सुरु भएको अवस्थाका बीच पछिल्ला दिनमा घटेका आत्मदाह एवं आत्महत्याका घटनाले अर्थतन्त्रको विकास र व्यवसायिक वातावरणमा सुधारसँग सरोकार राख्ने सबैलाई झक्झक्याएको पनि परिसंघले बताएका छ ।
विगत केही समयदेखि नेपाली अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बेलामा नेपाल सरकारबाट चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन, आयात फुकुवा, एलसी मार्जिन र निक्षेपमा ब्याजदर घट्ने जस्ता कदमहरुले अर्थतन्त्रलाई चलायमान गर्ने संकेत दिएको पनि उस्ले बताएको छ । साथै, पर्यटक आवागमन तथा रेमिट्यान्समा बृद्धि, शोधनान्तरस्थितीमा आएको सुधारलगायतले अर्थतन्त्रमा सकारात्मक सन्देश दिएका छन् । यस्ता सकारात्मक कदमहरु सरकारले क्रमशः अगाडि बढाउदै लैजानेमा परिसंघ विश्वस्त रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
केही महिनामै सरकारले लिएका र लिने कदमले तरलताको स्थिती र समग्र मागमा बृद्धि ल्याई अर्थतन्त्र चलायमान हुनेमा पनि परिसंघले जोड दिएको छ । कठिन अवस्थाको सम्वेदनशीलताका बारेमा सरकार, निकायमकीय निकाय पनि जानकार रहेको उस्को जिकिर रहेको छ । नेपालको निजी क्षेत्र कठिनतम अवस्थालाई चिर्दै अगाडि बढेको विगत , सशस्त्र द्धन्द, भूकम्प, कोभिड महामारी जस्ता अभूतपूर्व कठिन अवस्थामा पटक–पटक यसको पुष्टि भइसकेको भन्दै परिसंघले विगतमा जस्तै हालको कठिन स्थितीबाट पनि निजी क्षेत्र बाहिर निष्कने क्षमता राख्ने जनाएको छ ।
निजी क्षेत्र अर्थतन्त्रको बलियो आधार हो । जसको ७० प्रतिशत भन्दा बढी राजश्वमा योगदान छ । अर्थतन्त्र शिथिल हुँदा र उद्योगी व्यवसायीहरु निराश हुँदा राजश्वमा मात्रै नभई देशको प्रगतीमा नै नकारात्मक असर पर्छ । उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्ने र अर्थतन्त्रलाई चलायमान बनाउने सबैको दायित्व हो । यो जिम्मेवारी निजी क्षेत्रको मात्रै नभई राजनीतिज्ञ, कर्मचारीतन्त्र, वित्तिय संस्था, नागरिक समाजलगायत सबै सरोकारवालाहरुको हो । अर्थतन्त्र नाजुक परिस्थितीबाट गुज्रिरहेको बेलामा सबै सरोकारवालाहरुलाई संयमता अपनाई उद्योगी व्यवसायीहरुलाई यो परिस्थितीबाट माथि उकास्न मद्दत गर्न परिसंघले अनुरोध गरेको छ ।
मानिसको आशा नै जीवनको बाँच्ने आधार भएकाले अगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पात्र र प्रणाली दुवैमा प्रभावकारी ढंगबाट सुधारका काम तत्काल थाल्न सरकारीसहित मुख्य सरोकारवालाहरुलाई एकीकृत पहल गर्दै अघि बढ्न पनि परिसंघले अपिल गरेको छ ।