काभ्रे । सहकारी क्षेत्रमा पछिल्लो समय देखापरेको समस्या समाधानका लागि तेमाल गाउँपालिका कार्यालयले स्थानीयस्तरका सहकारी संस्थालाई १५ दिनभित्र सबै विवरण उपलब्ध गराउन अनुरोध गर्दै पाँच दिनअघि सार्वजनिक सूचना जारी गरेको छ । जारी सूचनामा कार्यालयद्वारा दिइएको समय सीमाभित्र विवरण उपलब्ध नगराउने सहकारीको दर्ता खारेजीसम्बन्धी कारबाही प्रक्रियासमेत अगाडि बढाइने उल्लेख गरिएको थियो ।
सूचनामा गाउँपालिकाभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाको विवरण अद्यावधिक गर्नुपर्ने भएकाले सम्पूर्ण (बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि तथा अन्य सहकारी संस्था)सहकारीले तोकिएको समयमा आवश्यक कागजात सार्वजनिक गर्न अपिल गरिएको छ ।
‘तोकिएको समयभित्र विवरण उपलब्ध नगराउने सहकारीको दर्ता खारेजीसम्बन्धी कारबाही प्रक्रिया अगाडि बढाउनेछौँ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन प्याकुरेलले भने । उनका अनुसार सहकारीको सेयर सदस्य र सेयर पुँजी तथा बचत संकलन र ऋण लगानीसमेतको विवरण माग गरिएको छ ।
केही हप्ताअघि पाँचखाल नगरपालिकाले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल–२०८० को सुझाव तथा नगरको सहकारी ऐन–२०७५ को दफा ५२ को (१)उपदफा बमोजिम सहकारी संस्थाको सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समितिका सदस्य तथा व्यवस्थापकको सम्पत्ति विवरण र उनीहरूले संस्थाबाट लिएको ऋणको विवरण, तीनपुस्ते विवरण, तथा संस्थाका नाममा रहेको जमिन एवं घरको कागजातसमेत बुझाउन नगरले निर्देशन दिएको थियो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमका अनुसार नगरभित्रका सबै प्रकृतिका सहकारीलाई कारोबार एवं गतिविधि दुरुस्त राखी आ–आफ्ना विवरण ‘कोपोमिस’मा प्रविष्ट गर्न निर्देशन दिइएको छ । पाँचखालमा सबै प्रकृतिका १४१ सहकारी छन् । यस्तै नगरले सबै प्रकृतिका सहकारी संस्थालाई ‘बचत कार्ययोजना’ निर्माण गर्नसमेत निर्देशन दिएको छ ।
सहकारी क्षेत्रमा पछिल्लो समय देखापरेको समस्या समाधानका लागि सेयर सदस्यको माग बमोजिम बचत फिर्ता गर्ने गरी बचत कार्ययोजना बनाउन नगरका सम्पूर्ण सहकारी संस्थाहरूलाई निर्देशन दिएको हो ।
जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभे्रपलाञ्चोकका अनुसार दर्ता भएका १ हजार ४९५ सहकारीमध्ये हाल ६४६ वटा मात्रै सञ्चालनमा छन् । हाल सञ्चालित सहकारीमा ६ लाख ७९ हजार ८१८ जना सेयर सदस्य रहेको तथ्यांक छ । संघले जिल्लास्थित सहकारी संस्थाको अनुगमन, निरीक्षणका क्रममा ८४९ वटा सहकारीको अवस्था ‘अज्ञात’ रहेको जनाएको छ ।