तेमाल गाउँपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण

दर्पण दैनिक १८ बैशाख २०८१,०९:२६
post

काभ्रे । तेमाल गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई ट्याक्टर वितरण गरेको छ । सोमबार गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकर (डिएम) र वडा ५ का अध्यक्ष हजारसिं लामाले संयुक्त रुपमा किसानहरुलाई हाते ट्याक्टर वितरण गरेका हुन् ।

आर्थिक वर्ष २०८०/०८१ गाउँसभाले किसानहरुको आवश्यकता मागलाई मध्यनजर गरेर ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गर्ने निर्णय गरेको थियो । सोही अनुसार ७० वटा हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि शाखा प्रमुख कुल्दिप पहाडीले जानकारी दिए । ४२ हजार ८ सय रुपैयाँ प्रति मुल्य पर्ने सो ट्याक्टर खरीदमा गाउँपालिकाको तर्फबाट एउटा ट्याक्टरको लागि २१ हजार ४ सय रुपैयाँ र किसानको तर्फबाट २१ हजार ४ सय रुपैयाँ जम्मा गरेको थियो ।

ट्याक्टर वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले आफू पनि किसानको छोरा भएकोले एउटा किसानले अर्को किसानको पिरमर्का बुझ्दै ट्याक्टर वितरण गरेको बताए । गत वर्षदेखि नै किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण अभियान सञ्चालन गरेको अध्यक्ष तामाङले जानकारी दिए ।

उनले भने, ‘हाम्रो तेमाल ८६ प्रतिशत भन्दा बढी कृषिमा आधारित रहेको भूगोल हो । म लगायत हामी सबै जनप्रतिनिधिहरु किसानकै सन्तान हुन् । एउटा किसानले अर्को किसानको पिरमर्कालाई बुझ्दै यो अभियान हामीले शुरु गरेका हौं ।’ 

गत वर्ष किसानहरुबाट सयौं वटा ट्याक्टर माग भएकोमा ४०÷४५ वटा मात्र वितरण गर्न सकिएको उनले बताए । उनले भने, ‘माग अनुसार ट्याक्टर वितरण गर्न नसक्दा हामी अत्यन्त दुखित छौं । त्यो समस्यालाई मध्यनजर राख्दै यो पटक अलि फरक ढंगले गत वर्षको समस्यालाई समाधान गर्ने हिसाबले हामीले ट्याक्टर ल्याउनुभन्दा अघि नै डाटा संकलन गर्यौं ।’

ट्याक्टर वितरणको विषयलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गरेको प्रति अध्यक्ष तामाङले दुःख व्यक्त गरे । उनले गाउँपालिकामा रहेका ३१ हजार जनता नै आफ्ना मान्छे भएको बताए । उनले कसैप्रति कुनै पनि प्रकारको भेदभाव नराखेको र आगामी दिनहरुमा पनि भेदभाव नगर्ने बताए । आफू नेपाली काँग्रेसबाट निर्वाचित भएपनि ५ वर्षका लागि पार्टीबाट विदा लिएर आएकोले कुनै भेदभाव आफूबाट नहुनेमा ढुक्का हुन सबैलाई अनुरोध गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष दलमान थोकर (डिएम)ले ट्याक्टर वितरणले किसानको जीवनमा परिवर्तन हुनुपर्नेमा जोड दिंदै थोरै भएपनि किसानको आर्थिकोपर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले ट्याक्टर वितरण गरेको बताए । यसैबीच ५० प्रतिशत लगानी किसानहरुको पनि रहेको बताउँदै उनले ट्याक्टरको संरक्षण गर्ने, यसलाई सही ढंगले उपयोग गर्ने कुराहरुमा अगाडी बढ्न किसानहरुलाई अनुरोध समेत गरे । 

कार्यक्रममा वडा अध्यक्ष हजारसिं लामा, लेखा अधिकृत सूर्य त्रिपाठी, विभागीय कर्मचारीहरु लगायत किसानहरुको सहभागीता थियो ।
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post