काठमाडौं । स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ । भुइँकटहरलाई पोषक तत्वको भण्डार नै मानिन्छ । यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन, थियामिन, बी ५, बी ६ र फोलेट पाइन्छ । यस्तै, खनिज तत्वमा पोटासियम, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियम पाइन्छ । यसमा कम क्यालोरी हुने हुनाले तौल घटाउन पनि उपयोगी मानिन्छ । पछिल्लो समय नेपालमा पनि यसको खेती गरी अर्थोपार्जनको रुपमा लिन थालिएको छ । यस भुइँकटहरको खेती कसरी गर्ने भनि विज्ञले तयार पारेको बुदाहरु पढौं ।
१ भूईंकटहरको बिरुवा कसरी उत्पादन गरिन्छ ?
यसका बिरुवाहरु अलैङ्गिक भागहरु प्रयोग गरेर उत्पादन गरिन्छ । यसरी प्रयोग गरिने भागहरु क्राउन, स्लिप र सकर्स हुन् ।
२. भूईंकटहरको बिरुवा कसरी लगाईन्छ ?
राम्ररी खनजोत गरी तयार गरेको जमीनमा दुई लाईनको बीचको दुरी ६० से.मि.र एक बोटदेखि अर्को बोटको दुरी ३० से.मि.कायम गरिन्छ । दुबै ब्याडको बीचको दुरी ७५-९० से.मि.राखिन्छ ।
३. नेपालमा कुन कुन जातहरुको खेती भइरहेको छ ?
नेपालमा हाल जाईन्ट क्यू, क्वीन,मौरिसस र स्पेनिश जातको खेती भई रहेता पनि जाईन्ट क्यू र क्वीन बढी प्रचलित जातहरु हुन् ।
४. माटोको पि.एच. मान कतिसम्म भएमा राम्रो हुन्छ ?
यसको खेतीको लागि माटोको पि.एच. मान ५.५ देखि ६.५ सम्म उत्तम हुन्छ । माटोमा क्याल्सियम, म्याङ्गनिज र फलामको मात्रा बढी भयो भने बिरुवालाई नकारात्मक असर पर्दछ ।
५. यसलाई कस्तो किसिमको माटोमा लगाउँदा राम्रो हुन्छ ?
पानी नजम्ने बलौटे दोमट र बढी उर्वराशक्ति भएको माटोयसको खेतीको लागि उपयुक्त मानिन्छ । यसलाई माटोको किसिम भन्दा पनि निकासको व्यवस्था हुनु अति जरुरी छ ।
६. यसको लागि वार्षिक वर्षा कतिसम्म भएमा उचित हुन्छ ?
यसको लागि साला खाला १५० से.मि. वार्षिक वर्षा उत्तम हुन्छ तर ५१ देखि ५०० से.मि.सम्म वार्षिक पानी पर्ने ठाउँमा पनि यसको खेती गर्न सकिन्छ ।
७. यसको खेतीको कतिसम्मको तापक्रममा उपयुक्त हुन्छ ?
यसको खेतीको लागि २१ देखि २३ डिग्री सेल्सियसको तापक्रम उत्तम हुन्छ तर१५.५ देखि ३२.५ डिग्री सेल्सियस सम्मको तापक्रममा पनि यसको खेती सफलताका साथ भइरहेको छ ।
८. यसको खेती समुद्र सतहबाट कति उचाईसम्म गर्न सकिन्छ ?
यसको खेती समुद्री सतहबाट १५०० मिटरको उचाईसम्ममा गर्न सकिन्छ । हालको जलवायु परिवर्तनले गर्दा यसको खेती माथिल्लो क्षेत्रमा पनि राम्रो भइरहेको छ ।
९. भूईंकटहरलाई कस्तो किसिमको हावापानी उपयुक्त हुन्छ ?
यो उष्ण प्रदेशीय फलफूल अन्तर्गत परेता पनि यसको उत्पादन उपोष्ण हावापानीमा पनि त्यत्तिकै राम्रो हुन्छ ।
१०. भूईंकटहरको क्वीन जातको विशेषता के हो ?
यसकाबिरुवाहरु साना आकारका र पातहरु काँडा भएका हुन्छन् । सरदर एउटा फलको तौल ०.८ देखि १.२५ के.जी. सम्म हुन्छ । फल गोलो हुन्छ र आँखाहरु भित्रपट्टी गाडिएका हुन्छन् । अतः यो जात डिब्बाबन्दीको लागि उपयुक्त मानिँदैन । जाईन्ट क्यू भन्दा बढी वासनादार, बढी गुलियो र कम अमिलो हुन्छ ।
११. जाईन्ट क्यूजातको भूईंकटहरका विशेषताहरु के के छन् ?
यसकापात ठूला र काँडा नभएका हुन्छन् । फलको आकार ठूलो र गोलो तथा माथिपट्टी साँगुरिदै गएको हुन्छ । फलको सरदर तौल २.५ के.जी. हुन्छ । यसका आँखाहरु धेरै गहिरा नभई सतहमै हुन्छन् र रेशा हुँदैन । यो डिब्बाबन्दीको लागि प्रसिद्ध जात हो ।
१२. भूईंकटहरको फलमा देखा पर्ने सन स्काल्ड विकृतिबाट कसरी बच्न सकिन्छ ?
भूईंकटहरका बोट ढलेमा वा तेर्सिएमा फलमा प्रकाश परेको भाग तथा दक्षिण-पश्चिम तर्फको भाग परिपक्व नहुँदै पहेंलिन्छ । यस्तो समस्याबाट बच्न ढलेको तथा प्रकाश बढी पर्ने फलको भागलाई खर वा पराल वा केराको पात वा भूईंकटहरकै पातले छोपी दिनु पर्दछ । छायाँदार बोट लगाइएको ठाउँहरुमा यस्तो किसिमको समस्या आउँदैन ।
१३. फल कुहिने रोगबाट बच्नको लागि के कस्तासावधानी अपनाउनु पर्दछ ?
यस रोगबाट बच्नको लागि फलको भेट्नोलाई १०५ को बेन्जोइक एसिडलाई इथेनलमा तयार गरेर त्यसमा डुबाउनु पर्दछ ।
१४. फल कुहिने रोग कसरी लाग्दछ र यसलाई कसरी पहिचान गर्न सकिन्छ बताई दिनु हुन्थ्यो कि ?
यस रोगको ढुसीको कारणले गर्दा पहिला गुदी कुहिन शुरु हुन्छ । बाहिरबाट हेर्दा फल राम्रो देखिएता पनि फल भित्रको गुदीमा काला दागहरु रहेका हुन्छन् । शीत भण्डारण गरिएका फलहरुमा यसको प्रकोप बढी हुन्छ ।
१५. यस रोगबाट बच्न कस्ता-कस्ता उपायहरु अपनाउनु पर्ला ?
यस रोगबाट बच्नको लागि रोगमुक्त बिरुवाहरु लगाउने र माटोमा पानी जम्न दिनु हुँदैन । गोडमेल गर्दा बिरुवाको गुभोमा माटो पर्न दिनु हुँदैन र बिरुवा रोप्नु अगाडी बिरुवालाई क्याप्टान वा बोर्डो्मिक्सचरको १५घोलमा डुबाएर मात्र रोप्नु पर्दछ ।
१६. गुभो कुहिने रोग कसरी लाग्दछ र यसको पहिचान कसरी गर्न सकिन्छ ?
माटोमा राम्रोसँग हावा नखेल्ने र पानीको निकास राम्रो नभएको ठाउँमा यसको प्रकोप बढी हुन्छ । पातहरु पहेंलिँदै जानु, टुप्पा र छेउमा खैरो गोलो दाग हुनु, पातको फेदबाट कुहिनु, जरा कुहिनु यसका मुख्य लक्षण हुन् ।
१७. भूईंकटहरमा रोगको प्रकोप कस्तो छ ?
यसमा गुभो कुहिने, फल कुहिने, पातको थोप्ले, सन स्काल्ड, गुच्छे जस्ता विभिन्न खालका रोगहरु लाग्दछन् तर यिनीहरु मध्ये गुभो कुहिने र फल कुहिने रोगले बालीलाई बढी नोक्सानी र्पुयाउँदछ ।
१८. यस कीराको आक्रमणबाट बिरुवालाई कसरी बचाउन सकिन्छ ?
यसबाट बच्नको लागि सकेसम्म कीराले आक्रमण नगरेको ठाउँबाट बिरुवा ल्याई लगाउनु पर्दछ । बिरुवा लगाउने बेलामा क्राउन वा तलपट्टीका पात हटाई ०.०४ प्रतिशतको इकाटसको झोलमा १-२ घण्टा डुबाएर अनि मात्र बिरुवा लगाउनु पर्दछ । बगैंचामा ०.५-१.० के.जी. प्रति रोपनीका दरले प्रयोग गर्नु पर्दछ ।
१९. भूईंकटहरमा लाग्ने सबैभन्दा हानिकारक कीरा मिलीबगले कसरी क्षति पुर्यारउँदछ ?
यस कीराको आक्रमण पश्चात् बिरुवाले ओइलाउने लक्षण देखाउँदछन् । कीराले बढी जरामा आक्रमण गर्दछन् र जरा कुहिन गई त्यसको असर पातमा परी ओइलाउन लक्षण देखा पर्न शुरु हुन्छ ।
२०. भण्डारण गरिएका फलहरुलाई एकनाससँग पकाउने कुनै उपाय छ ?
भण्डारण गरिएका फलहरुलाई एकरुपताका साथ पकाउन तथा पहेंलो र आकर्षक रङ्गको विकास गर्न फललाई ५०० पि.पि.एम. को इथ्रेलले उपचार गर्नु पर्दछ ।
२१. भूईंकटहरलाई कसरी भण्डारण गर्न सकिन्छ ?
गरम ठाउँमा यसलाई १० दिनभन्दा बढी भण्डारण गरेर राख्न सकिन्न । कोल्ड स्टोरेजमा ८-१० डिग्री सेल्सियस को तापक्रम र ८५-९० प्रतिशत आर्द्रतामा एक महिनासम्म भण्डारण गर्न सकिन्छ । अक्सिजन २५ र नाईट्रोजन ९८५ भएको नियन्त्रित स्टोरेजमा एक महिना भन्दा बढी भण्डारण गर्न सकिन्छ ।
२२. ढुवानीको समयमा फलहरु नाश नहुन् भन्नका लागि प्याकेजिङ्ग कसरी गर्नु पर्दछ ?
फलको भेट्नोलाई १०-२० से.मि. बाकी राखेर अन्य भाग काटेर हटाउनु पर्दछ र काटेको ठाउँमा सुरक्षित ढुसीनाशक विषादि लगाउनु पर्दछ । टुप्पातिरको क्राउनको पातलाई पनि हटाउनु पर्दछ र काठको बाकस वा कार्टुनमा पराल वा स्पोन्ज राखी बाकसको माथिपट्टि प्वाल बनाई हावा खेल्ने व्यवस्था मिलाउनु पर्दछ ।
२३. भूईंकटहरलाई ग्रेडिङ्ग गर्न जरुरी हुन्छ ?
बजारबाट राम्रो मूल्य प्राप्त गर्न सकियोस् र भण्डारणका लागि उपयुक्त फलहरु छुट्टिउन भन्नका लागि ग्रेडिङ्ग हुन जरुरी छ ।यसका फलहरु टिपिसकेपछि ठूला र साना फलहरुलाई ग्रेडिङ्ग गरेर छुट्टयाउनु पर्दछ ।पाक्न शुरु गरेका, रोगकीरा लागेका फलहरुलाई अलग्याई राम्रा र एकनासका फलहरुलाई अलग्गै राख्नु पर्दछ ।
२४. भूईंकटहरको उत्पादन प्रति रोपनी कतिसम्म हुन्छ ?
व्यवस्थित तरिकाले लगाइएको बगैंचामा प्रति रोपनी २.५ मे.टन देखि ३.० मे.टन सम्म उत्पादन लिन सकिन्छ र करिब ५००० सकर्स र स्लिपहरु पनि उत्पादन हुन्छ ।
२५. भूईंकटहर फल कस्तो अवस्थामा टिप्नु पर्दछ ?
नजिकको बजारका लागि फल टिप्दा फलको फेदमा पहेंलो सुन्तला रङ्गको विकास भएपछि फल टिप्नु पर्दछ भने टाढा बजारको लागि वा भण्डारणको लागि फल टिप्दा आँखाहरु पुष्ट भएपछि आँखाका साना पातहरु अलि-अलि सुक्न थालेपछि टिप्नु पर्दछ ।
२६. एउटा भूईंकटहरको बिरुवा कति पटक फुल्छ र फल दिन्छ ?
एउटा भूईंकटहरको बिरुवाले आफ्नो जीवनकालमा एकपल्ट फूल र फल दिन्छ । फलको विकासको लागि भूईंकटहरमा परागसेचनको महत्व छैन । फलहरु बीउ बिना नै हुन्छन् ।
२७. भूईंकटहरको बगैंचा भित्र पनि अन्तरबाली लगाउन सकिन्छ ?
भूईंकटहर आफै अन्तरबालीको रुपमा प्रयोग गरिने बाली हो । यसका बिरुवाहरु कम दुरीमा लगाईने र झारपात नियन्त्रण समस्याको रुपमा रहने हुँदा अन्य बालीलाई अन्तरबालीको रुपमा लगाउन सकिन्न ।
२८. भूईंकटहरको झारपातलाई कसरी नियन्त्रण गरिन्छ ?
यसको बगैंचामा झारपात नआओस भन्नका लागि बगैंचा लगाउने बेलामा सुकेको झारपात, पराल आदिले बाक्लो मल्चिङ्ग गर्नु पर्दछ । त्यसपछिको अवस्थामा कुटो कोदालोको माध्यमले हातैले झार हटाउनु पर्दछ र ठूलो बगैंचामा भने झारनाशक विषादि मानोयूरन २ के.जी. वा सिमाजिन १० के.जी. वा ब्रोमासिल ४ के.जी. प्रति हेक्टरमा प्रयोग गरी झारपात नियन्त्रण गर्न सकिन्छ ।
२९. भूईंकटहर बगैंचामा झारपात नियन्त्रणलाई किन महत्वपूर्ण मानिन्छ ?
झारपात नियन्त्रण यसको खेतीको सबैभन्दा महत्वपूर्ण काम मानिन्छ । यसको नियन्त्रणको लागि मात्र कुल खर्चको ४०५ लाग्दछ । यसको बगैंचामा आउने मुख्य झारहरुमा घास, कुस, सिरु,दुबो, मोथा आदि पर्दछन् ।
३०. भूईंकटहरको बिरुवालाई सिंचाईको आवश्यकता हुन्छ ?
यसलाई बिना सिंचाई पनि खेती गरेको पाईन्छ । यसका पातहरु बाक्ला हुने हुँदा पातले प्रशस्त पानी जम्मा गरेर राख्दछ । दिउँसो चर्को घाममा स्टोमाटा बन्द हुने हुँदा पानीको खर्च कम हुन्छ । ज्यादै गरम र सुख्खा ठाउँमा १५-२० दिनमा सिंचाई गर्नु पर्दछ ।
३१. भूईंकटहरलाई प्रति रोपनी जमीनमा कति मलखादको जरुरी पर्दछ ?
पहिले अन्नबालीहरु लगाई रहेको जमीनमा यसको बगैंचा लगाउँदा १-१.५ मे.टन कम्पोष्ट मल, ३० के.जी.नाईट्रोजन, २० के.जी.फास्फोरस तथा ३० के.जी.पोटासकोआवश्यकता पर्दछ ।
३२. भूईंकटहरको सकर भन्नाले चाहिँ के बुझिन्छ ?
सकर भन्नाले बिरुवाको काण्डको माटोमुनीको टुसाबाट प्रशस्तकोशाहरु निस्कन्छन् । यी कोसाहरुलाई नै सकर भनिन्छ । सकर्सलाई बगैंचामा रोपेको ६-१० महिनामा फल दिन्छन् ।
३३. भूईंकटहरको स्लिप भनेको के हो बताई दिनु हुन्थ्यो कि ?
स्लिप फलको फेददेखि तलपट्टी साना बिरुवाहरु निस्केका हुन्छन् । यिनीहरुको वृद्धि र विकास पनि फलको विकास सँगसँगै हुन्छ र यिनीहरुलाई पनि फलको उत्पादन लिने समयमै हटाउने गरिन्छ । यिनीहरुलाई रोपेपछि २०-२२ महिनामा फल दिन्छन् ।
३४. भूईंकटहरको क्राउन भनेको के हो ?
फलको शिरमा रहेको भागलाई क्राउन भनिन्छ । फल पाकेपछि मात्र त्यस्ता क्राउनलाई हटाउन सकिन्छ । फलसँग यसको घनिष्ठ सम्बन्ध हुने हुँदा यसलाई फलको उत्पादन लिनु अगाडी हटाउनु हुँदैन । यिनीहरुलाई रोपेको २२-२४ महिनामा फल दिन्छन् ।
( Ashok Bahadur Tandan- काे फेसबुकबाट )