काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम (युटीएल)लाई वक्यौता वापतको रकम भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै आगामी माघ मसान्तसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्न युटीएललाई निर्देशन दिएको हो ।
युटीएलले प्राधिकरणलाई ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १ सय ५३ रुपैया भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीलाई बि.सं २०७३ भदौ २० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्रदान गरिएको थियो । त्यसपछि प्राधिकरणलाई तिर्नुपर्ने अनुमतिपत्र नवीकरण दस्तुरवापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर रकम भुक्तानी गरेको छैन ।
लामो समयसम्म तोकिएको रकम भुक्तानी नगरेपछि प्राधिकरणले माघ मसान्तसम्मको समय तोकेर भुक्तानी गर्न निर्देशन गरेको हो । माघ मसान्तभित्र वक्यौता रकम नतिरेमा प्रचलित कानुनबमोजिम कारबाही अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ ।
त्यसैगरी प्राधिकरणले केसीएन नेट प्रालिको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको सूचनामा केसीएन नेट प्रालि काठमाडौँ महानगरपालिका–६ बौद्धलाई दिएको लाइसेन्स खारेज गरेको हो ।
प्राधिकरणबाट इन्टरनेट (ई–मेलसहित) सेवाको अनुमतिपत्र प्राप्त संस्था केसीएन नेटले नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेकाले स्वतः खारेज भएको प्राधिकरणले जनाएको हो । उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।
साथै इन्टरनेट (ई–मेलसहित) सेवा सञ्चालन गरे वापत नियमानुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम तिर्नु समेत प्राधिकरणले निर्देशन दिएको छ ।