काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुँइटेल नियुक्त भएका छन् । आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् । लुइँटेल तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् ।
नेप्सेको नयाँ सीईओ छनोटका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले प्रारम्भिक चरणमा पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । समितिले नारदकुमार लुइँटेलसँगै चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई अन्तिम चरणको प्रतिस्पर्धामा समेटेको थियो । पाँचै जनाले बुधबार अर्थ मन्त्रालयमा व्यक्तिगत अन्तर्वार्ता दिँदै आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । कार्ययोजना र अन्तर्वार्ताको आधारमा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले लुइँटेलको नाममा टुंगो लगाएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google