
काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई ४ वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको जानकारी दिए । उनले भने, ‘आज बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्ड नेपालको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ।’
बोर्डको अध्यक्ष नियुक्त भएका श्रेष्ठले काठमाडौँ विश्वविद्यालयबाट फाइनान्समा एमबीए गरेका छन् । श्रेष्ठ यसअघि स्वाभिमान लघुवित्त वित्तीय संस्थामा अध्यक्ष र तत्कालीन नेपाल एक्स्प्रेस फाइनान्सका अध्यक्ष थिए । उनले दुई संस्थामा डेढ दशकभन्दा बढी अध्यक्षको रुपमा कार्यभार सम्हालिसकेका छन् ।
विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यमा उनको तीन वर्षको अनुभव छ । यसबाहेक उनी व्यवस्थापन संघ नेपाल (म्यान)को आजीवन सदस्य, रुपन्देही चेम्बर अफ कमर्सका कार्यकारी सदस्य रहिसकेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google