अबदेखि दैनिक सुन २५ केजी, रेमिट्यान्स २५ लाख रुपैयाँ ल्याउन सकिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्सको सीमा ५ लाख रुपैयाँले बढाएको छ । केन्द्रीय बैंकले फिर्ता नगर्ने गरी आउने २० लाख रेमिट्यान्सको सीमा बढाएर २५ लाख रुपैयाँ पुर्याएको हो । केन्द्रीय बैंकका अनुसार नेपाली-विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म-कम्पनीले सम्पत्ति बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशबाट पठाएको रकम विप्रेषण कम्पनीमार्फत खातामा जम्मा गर्ने गरी दैनिक (एकपटक वा पटक–पटक) गरेर २५ लाखसम्म ल्याउन पाउनेछन् । यसअघि २० लाख रुपैयाँसम्म ल्याउन पाउने व्यवस्था थियो ।
विप्रेषण कम्पनीहरुले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजात लिएको हुनु पर्ने केन्द्रीय बैंकले जनाएको छ । यसरी आएको रेमिट्यान्स प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र विभाग, सम्बन्धित सुपरीवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा जानकारी गराउनु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
त्यस्तै, अबदेखि दैनिक २५ केजी सुन आयात गर्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ केजी कायम गरेको जनाएको हो । यसअघि दैनिक २० केजीसम्म मात्रै सुन आयात गर्न सकिने व्यवस्था थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google