काठमाडौं । मंसिर महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदरमा २० मध्ये ११ वटा बैंकले ब्याजदर घटाएका हुन् ।
कात्तिक महिनामा यस्तो औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ५.९६ प्रतिशत भएको छ । एक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटेको हो । कात्तिकमा यस्तो ब्याजदर असोजको तुलनामा ०.२१ प्रतिशत विन्दुले घटेको थियो ।
सार्वजनिक सूचनाअनुसार मंसिरका लागि पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्यले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर केही बढाएको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ०.२ प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत पुर्याएको हाे ।
११ बैंकले ब्याजदर घटाउँदा ८ बैंकले भने ब्याजदर स्थिर राखेका छन् । स्थिर राख्नेमा नेपाल एसबीआई, नेपाल, सानिमा, इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, हिमालयन र एभरेस्ट छन् । ११ बैंकले भने घटाएका छन् । घटाउनेमा कृषि विकास, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सिटिजन्स, नबिल, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, एनएमबी र एनआईसी एसिया छन् ।
मंसिर महिनामा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनआईसी एसिया बैंकले ६.७९ प्रतिशत दिनेछ । कात्तिकमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ७ प्रतिशत कायम भएको थियो ।
मंसिर महिनामा सबैभन्दा बढी ब्याजदर एनआईसी एशिया बैंकको रहेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.७९ प्रतिशत ब्याजदर तोकेको छ । साथै, सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको ५.५ प्रतिशत तोकेको छ ।
बैंकहरुले तोकेको ब्याजदर
बैंक | कात्तिकको ब्याजदर % | मंसिरको ब्याजदर % |
कृषि विकास | ५.७५ | ५.५३ |
राष्ट्रिय वाणिज्य | ५.८ | ६ |
नेपाल एसबीआई | ६ | ६ |
लक्ष्मी सनराइज | ६ | ५.५ |
ग्लोबल आईएमई | ६.२५ | ५.७५ |
कुमारी | ६.०१ | ५.७१ |
प्राइम कमर्सियल | ६ | ५.७५ |
नेपाल | ५.९५ | ५.९५ |
सानिमा | ६.१५ | ६.१५ |
सिटिजन्स | ५.७५ | ५.६५ |
नबिल | ६.२५ | ५.७५ |
इन्भेस्टमेन्ट मेगा | ६.५ | ६.५ |
सिद्धार्थ | ६ | ६ |
स्टान्डर्ड चार्टर्ड | ६.५ | ६.२५ |
माछापुच्छ्रे | ७ | ६ |
प्रभु | ६.१ | ६.१ |
एनएमबी | ६.५ | ५.५७ |
एनआईसी एसिया | ६.९९ | ६.७९ |
हिमालयन | ६.२५ | ६.२५ |
एभरेस्ट | ६ | ६ |