सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ देखि प्रिमियममा आइपीओ निष्कासन गर्ने

दर्पण दैनिक ८ भाद्र २०८०,०७:५६
post

काठमाडौं । सर्वसाधारणका लागि सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ देखि प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये ५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीका लागि निष्कासन गरेको छ ।

त्यस्तै, कम्पनीले बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेको ९० लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो । उक्त आइपीओमा १९ गतेसम्म आवेदन दिन सकिनेछ सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि भदौ २९ सम्म लम्बिनेछ । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ ।
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: