काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा ल्याएको छ ।
‘प्री फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर रहेका छन् ।
डाटा सेन्टरका लागि तोकिएको टियर ३ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी डाटा सेन्टर निर्माण गरिएको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनईए कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो मोडलको डाटा सेन्टर नेपालमै पहिलो भएको जनाएको छ । डाटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरू एकीकृत भण्डार गरी क्रमशः राखिने भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डाटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डाटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउड बनाउन लागिरहेको बताए । कार्यकारी निर्देशक घिसिङले डाटा सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित नयाँ वुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको उल्लेख गरे । उक्त विपद् रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डाटा सेन्टरलाई रिकभरी सेन्टरको रूपमा सञ्चालन गरिने छ ।
प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डाटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डाटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो । डाटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारीहरू खटाइएको प्राधिकरणले जानकारी दिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google