काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले इन्टरनेट (इ-मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त तीन कम्पनीको अनुमति पत्र खारेज गरिएको जनाएको छ । ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरूको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ ।
ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ । अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google