काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । प्रधानमन्त्रीले आइतबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।
‘नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुंगाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।
उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ । सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो ।जसअनुसार राजधानी प्रवेश गर्ने कार र भ्यानले रु ६५ र बाहिरिँदा रु ६० तिर्नुपर्नेछ ।
साथै मिनिबस र मिनिट्रकलाई राजधानी आउँदा रु ११५ र बाहिरिँदा रु ८०, बस र ट्रकले आउँदा रु २६० र फर्कँदा रु २०० तिर्नुपर्नेछ । त्यसैगरी भारी उपकरणका सवारीसाधनको हकमा भने काठमाडौँ आउँदा रु ६०० र फर्कँदा रु २०० दस्तुर निर्धारण गरिएको छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ । कुल २ दशमलव ६८८ किलोमिटर लम्बाइको उक्त सुरुङमार्गमा तीन दशमलव पाँच मिटर चौडाइका दुई वटा लेन छन् । सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google