
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नारायणहिटी पथ र कमलादीमा इभी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । वातावरणमैत्री अभियानलाई सशक्त बनाउने भन्दै बैंकले काठमाडौँ उपत्यकाको २ प्रमुख स्थानहरू नारायणहिटी पथ र कमलादीस्थित आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (इभी) चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको हो । गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको क्षमता ४० किलोवाट रहेको छ ।
बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो चार्जिङ स्टेशनहरू शुभारम्भ गरे । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वातावरणीय संरक्षणमा योगदान पुर्याउने उद्देश्यले इभी चार्जिङ स्टेशन स्थापना गर्ने रणनीति अघि सारेको र आगामी दिनमा सातै प्रदेश स्थीत आफ्नै भवनको प्रांगणमा चार्जिङ स्टेशनहरू स्थापना गरिने बताए ।
उक्त चार्जिङ स्टेशनहरू सर्वसाधारण, ग्राहक तथा इभी प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ । सिटिजन्स बैंकले आधुनिक प्रविधियुक्त चार्जिङ यन्त्रहरू जडान गरी ग्राहकलाई सहज, सुरक्षित र छरितो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । यस अभियानले नेपालको दिगो ऊर्जा प्रयोग तथा प्रदूषण न्यूनीकरणमा योगदान पु¥याउने बैंकको दाबी छ । वातावरण एवं पर्यावरणको संरक्षण र बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणको लागि सातै प्रदेशमा बैंकले १८०० भन्दा बढी विरुवाहरू रोपेको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google