काठमाडौं । नेपाल बीमक संघले सरकारविरुद्ध रिट दायर गरेको छ । कोरोना बीमा बापतको दाबी भुक्तानी गर्न माग गर्दै संघले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।
सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ ।
सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सो रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।
कोरोना बीमा बापतको दाबी भुक्तानी माग गरेको ४ वर्ष हुँदा पनि अझै एक लाखभन्दा बढी बीमितले भुक्तानी पाएका छैनन् । उनीहरूले ९ अर्ब ७२ करोड रुपैयाँ भुक्तानी नपाएका हुन् । सो भुक्तानी नेपाल सरकारले दिनुपर्ने हो । सरकारले बीमा कम्पनीहरूलाई करिब २ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ ।