काठमाडौं । आगामी असार २४ गतेपछि संघ, प्रदेश र स्थानीय तहको भुक्तानी रोकिने भएको छ । सरकारको लेखा हेर्ने निकाय महालेखा नियन्त्रकको कार्यालयले असार २४ गते राती १२ बजेपछि सबै बजेटरी भुक्तानी रोकिने जनाएको हो ।
सो भन्दा अघि नै सबै भुक्तानी सल्टाउन समेत कोष तथा लेखा नियन्त्रकको कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिन अगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको जनाएको छ ।
परिपत्रमा भनिएको छ, ‘आर्थिक वर्ष समाप्त हुनुभन्दा सातदिन अगावै मिति २०८० असार २४ गते राति १२ बजेभित्र नियमले निर्दिष्ट गरेको कामको बाहेक निकासा भुक्तानी नहुने र भुक्तानी प्रणालीसमेत बन्द हुने ब्यहोरा बुझिदिनुहुन निर्णयानुसार अनुरोध छ ।’
बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, एकल खाता कोष प्रणाली र कम्प्युटरकृत सरकारी लेखा प्रणाली एक हप्ताका लागि बन्द हुने छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष सकिन एक हप्ता अघि नै भुक्तानी गरिसक्नुपर्ने भनेकोले त्यो अवधीमा भुक्तानी नभए रोकिने महालेखाले जनाएको छ । विगतमा पनि यसरी भुक्तानी रोकिएको थियो ।