
काठमाडाैँ । विशेष साधारण सभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएसँगै फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले २६औं फ्लोरा एक्स्पो २०८१ को तयारी सुरू गरेकाे छ । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्यानले फ्लोरा एक्स्पो २०८१ को आयोजना गर्ने भएको हाे । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत्र १ देखि ४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा उक्त एक्स्पाे आयोजना हुनेछ ।
वरिष्ठ उपाध्यक्ष तथा मेला संयाेजक रामबहादुर तामाङका अनुसार यस वर्ष पनि फ्लोरा एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरिय फूल तथा आलंकारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइनेछ । उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलंकारिक बिरुवा, फूल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर (गुलाब, जरबेरा, कार्नेशन) विधामा पुरस्कृत गरिनेछ। विजेताहरूलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
मेलामा सहभागी हुने नर्सरी वा फर्मले तीनवटा विधामा मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । साथै, पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात-निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता, तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहनेछ ।
स्टल बुकिङ्गको प्रक्रिया माघ २ गतेदेखि सुरु हुनेछ । साधारण स्टलको क्षेत्रफल २४ वर्ग मिटर र अफिसियल स्टल ९ वर्ग मिटर क्षेत्रफलको हुनेछ । स्टल शुल्क फ्यानका सदस्यका लागि रु. २५,००० र गैरसदस्यका लागि रु. ४०,००० तोकिएको छ । फ्लोरा एक्स्पो २०८१ ले पुष्प व्यवसायलाई थप व्यावसायिक रूपमा सशक्त बनाउन र वातावरणीय सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको फ्यानका सचिव राजु तामाङले बताए ।
केही दिन अगाडि सम्पन्न विशेष साधारण सभाबाट फ्लोरिकल्चर एसोसिएसन नेपालकाे अध्यक्षमा राजेशभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ ( निर्विरोध) र उपाध्यक्षमा सुमन महर्जन निर्वाचित भएका थिए । त्यसैगरी, महा – सचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राज कृष्ण बजगाईं (निर्विरोध) निर्वाचित भएका थिए ।
यसैगरी, कार्यसमितिको सदस्यहरुमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सिताराम लामिछाने, इन्द्र कुमार श्रेष्ठ र मन्दिर श्रेष्ठ निर्वाचित भएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google