लमजुङ र मनाङको विद्युत् भरपर्दो बनाउन दाैडधुपमा कुलमान, धारापानी र खुदी सबस्टेसनकाे काम चाँडाे सक्न निर्देशन

दर्पण दैनिक २३ कार्तिक २०८१,१३:१०
post

काठमाडौँ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।

धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु जारी छन् । धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरुको निर्माण धमाधम भइरहेको छ ।

धारापानी र खुदी सबस्टेसनमा क्रमश : २२०/१३२ केभी,१०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन् । दुवै सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका आवश्यक व्यवस्था गरिएको छ । निर्माण सम्पन्न भई सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्ति सुरु भएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत सबस्टेसन तथा प्रसारण लाइन निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी  जनशक्ति थप गरी प्रसारण लाइन तथा सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरे । साथै, कार्यकारी निर्देशक घिसिङले धारापानी क्षेत्रका स्थानीयबासिन्दासँग छलफल गरी सबस्टेसन तथा प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गर्न आग्रह गरे ।


‘मस्र्याङ्दी करिडोर प्रसारण लाइनमा जोड्ने गरी सम्झौता गरिएका जलविद्युत् आयोजनाहरुको निर्माण सुरु भइसकेको छ, त्यसैले यो लाइन जतिसक्दो छिट्टो निर्माण सम्पन्न गर्नुपर्ने छ, समयतालिका, कामको गुणस्तरलगायतलाई विशेष ध्यान दिएर निर्माणलाई तीब्रता दिनुपर्ने छ’, घिसिङले भने ‘भौगोलिक बिकटतालाई चिर्दै मनाङमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् त पुगेको छ तर भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको समस्या छ, आपूर्तिका सुधारका लागि पनि जतिसक्दो छिटो प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्नु पर्नेछ ।’ 

सबस्टेसन निर्माणस्थल वरपरका स्थानीय बासिन्दाले राखेका जायज माग पूरा गर्न आयोजना सँधै तयार रहेको बताउँदै उनले पर्यटकीयस्थल मनाङको विद्युत् आपूर्ति सुधारका लागि योजनाबद्ध रुपमा काम अगाडि बढाइसकिएको उल्लेख गरे ।

मस्र्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ ।

आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११४ किलोमिटर डबल सर्किट प्रसारण लाइनलाई  तीन प्याकेजमा विभाजन गरी निर्माण अगाडि बढाइएको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६८ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । यसखण्डमा पर्ने १९९ वटा टावरमध्ये १२५ वटाको जग हालिएको छ । ६५ वटा टावर खडा गरिएको छ । बाँकी स्थानमा काम भइरहेको छ ।

दोस्रो प्याकेजअन्तर्गत लमजुङको उदीपुर र चितवनको भरतपुरमा २२० केभीका सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् ।

तेस्रो प्याकेजअन्तर्गत धारापानी–खुदी– उदीपुर ४६ किलोमिटर प्रसारण लाइन र धारापानी तथा खुदी सबस्टेसन निर्माणाधीन छन् । खुदी–उदीपुर करिब १६ किलोमिटर प्रसारण लाइन खण्डमा १७ वटा टावरको जग हालिएको छ । ८ वटा खडा गरिएको छ । यस खण्डअन्तर्गत बेसींसहर नगरपालिका–८का केही स्थानीय बासिन्दाले प्रसारण लाइनको मार्ग परिवर्तन गर्नु पर्ने र यदि लाइन नसार्ने भएमा मार्गधिकारमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने माग राख्दै विगत दुई वर्षदेखि निर्माणमा अवरोध गर्दै आएका छन् । उक्त स्थानमा १२ वटा टावर निर्माण गर्नु पर्ने छ । टावर निर्माणका लागि जग्गा अधिग्रहणका लागि मुआब्जा रकम निर्धारण भई करिब ८० प्रतिशत जग्गाधनीले रकम बुझिसकेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङलाई भेटी खुदी–उदीपुर खण्डमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गरे । ‘दुई वर्षदेखि निर्माणमा अवरोध छ, हाम्रोतर्फबाट स्थानीयका जायज माग पूरा गर्ने प्रतिबद्धता पटक–पटक जनाउँदै सोही बमोजिम काम पनि गरिरहेका छौं, यस्तो महत्वपूर्ण प्रसारण लाइन निर्माण अब रोक्न सकिंदैन यसका लागि आवश्यक सहयोग सहजीकरण गरिदिनु पर्यो’, उनले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । निर्माणमा देखिएको अवरोध हटाउन स्थानीय प्रशासनकातर्फबाट सहजीकरण तथा समन्वय भइरहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले राष्ट्रिय प्राथमिकता प्राप्त प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गरिने बताए ।


खुदी–धारापानी खण्ड प्रसारण लाइन निर्माणका लागि अधिग्रहण गरिने निजी जग्गाको मूल्याङ्कनको प्रक्रियामा छ । यस खण्डमा भौगोलिक रुपमा विकट र चुनौतीपूर्ण स्थानमा प्रसारण लाइन निर्माण गर्नुपर्ने छ ।   नेपाल सरकार तथा प्राधिकरणको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको समग्र अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: