काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएकाे छ । सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलमा चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका हुन् ।
नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पेट्रोलियम ट्यांकर चालक संघ, निगम र मन्त्रालयबीच भएको छलफलमा चालकले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमत भएको बताए ।
आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएको भन्दै ७ बुँदे माग राखेर हड्तालमा उत्रिएका थिए ।
यस्ता छन् ४ बुँदे सहमति
१. नेपाल पेट्रोलियम ट्यांकर चालक संघको ७ बुँदे माग लगायत यस क्षेत्रमा देखा परेका समस्याहरुको समाधान गर्ने गरी १५ (पन्ध्र) दिन भित्र प्रतिवेदन पेश गर्न निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुने गरी एक उपसमिति गठन गर्ने ।
२. नेपाल आयल निगमले व्यवसायीहरुलाई दिई आए बमोजिमको पारिश्रमिक र सुविधा ट्यांकर चालक/सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता व्यक्त गर्ने ।
३. आजै मिति २०८१/०३/०३ देखि ट्यांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने सहमति भयो ।
४. विद्यमान कानूनी व्यवस्थाहरुको पालना सम्बन्धमा नियमित रुपमा प्रभावकारी अनुगमन गर्ने ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google