जुम्ला सिञ्जाको केदारनाथ मन्दिर ओझेलमा

दर्पण दैनिक २२ बैशाख २०८०,०८:५८
post

जुम्ला । स्थानीय सिञ्जा गाउँपालिकास्थित प्रसिद्ध मन्दिर केदारनाथलगायत थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका स्थल प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावमा ओझेलमा परेका छन् । समुद्री सतहदेखि करिव ३ हजार ५ सय मिटर उचाइमा केदारनाथ मन्दिर छ । 

यस धार्मिक क्षेत्रमा केदारनाथको मूल कुण्डभित्र चडाइएका सयौं वर्ष पुराना तामा, पित्तल र चाँदीका सिक्काको थुप्रो र हजारौँ वर्ष पुरानो मनिएको धातुजडित उत्कृष्ट कालीगढीका गौमुख भएका नुहाउने धारा थिए । स्थानीय बासिन्दाका अनुसार सबै सशस्त्र द्वन्द्वकालमा हरायो । 

यो मन्दिर भारतका चार धामभन्दा पनि पुरानो भएको मानिन्छ । अहिले केदारनाथ मन्दिरमा पुरानै आकारमा गौमुख धारा बनाएका छन् । काठबाट बनेका गाईका तस्बिर छन् । ढुंगा कुँदेर बनाएका मूर्ति पनि राखिएका छन् । जिल्लाकै सबैभन्दा आकर्षण मानिएको पवित्र तीर्थस्थल केदारनाथलाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रसँग जोड्न पहिलोपटक गाउँपालिकाले सम्भाव्यता अध्ययनदेखि केदारनाथको महत्व र यसको परिचानबारे सम्मेलनसमेत गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । 

मन्दिर नजिकैको पहराबाट निस्किएको पानीको मूल यस मन्दिरको थप आकर्षक बनेको छ । सानो पानीको कुण्डले यहाँ आउने जो कोहीको पनि मन लोभ्याउने गरेको छ । साउन पूणिमाको एकादशीको दिनमा ठूलो मेला लाग्ने भएकाले पूजाका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँबाट यहाँ आउने गरेका छन् । यस क्षेत्रमा पर्यटन क्षेत्र विकास र पूर्वाधार निर्माणको लागि काम सुरु गरिएको जानकारी दिँदै अध्यक्ष धितालले केदारनाथसम्म सडक निर्माण भइसकेको र अब प्रचारप्रसारका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताए । 

केदारनाथलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न पदमार्ग निर्माण गर्न सकिने वडा–४ का अध्यक्ष धनजीत बुढाले जोड दिए । भाकल गरिएको कुरा पुग्ने विश्वासका साथ अहिले यहाँ पूजा गर्न र अवलोकनका लागि सुर्खेत, कालीकोट, अछाम, मुगु र बाजुरालगायत स्थानबाट धार्मिक पर्यटक आउन थालेकोे स्थानीयवासी धनबहादुर बुढाले बताए । 

यस धार्मिक स्थललाई स्वदेश तथा विदेशमा चिनाउनका लागि प्रचारप्रसार गर्न र नेपालकै प्रमुख पर्यटकीय केन्द्रको रूपमा विकास गराउनसके सिञ्जा क्षेत्रको विकासमा टेवा पुग्ने सुर्खेतको चौकुने गाउँपालिकाबाट आएका बुद्ध रोकायाको भनाइ थियो । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: