काठमाडौं । विराटनगरमा साइकल चालकमाथि मुक्का हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले एक जना युवालाई पक्राउ गरेको जनाएको छ । १९ वर्षीय आयुष भेटवाललाई प्रहरीले गत बिहीबार नै पक्राउ गरेको थियो । उनले विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गरेका थिए ।
गत बुधबार राति साढे ८ बजे विराटनगर महानगरपालिका ४ दुधफार्मस्थित कोशी राजमार्गमा आयुषसहित ३ जना बा १५ च ३४४५ नम्बरको कारमा सवार थिए। कारमा १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की पनि थिए ।
राजमार्गमा विपरीत दिशाबाट आइरहेका साहलाई देखेपछि कारबाट ओर्लिएर उनीहरूले मुक्का हानेका थिए । मुक्का प्रहारपछि साह बेहोस भएका थिए । बेहोस भएका साहलाई आयुषले सडकमा केही परसम्म घिसारेको सिसीक्यामेरा फुटेजमा देखिएको थियो। उक्त घटनाको फुटेज सामाजिक सञ्जालमा भाइरल छ । पक्राउ परेका आयुषमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्य दुई जनाको खोजी भइरहेको छ ।
गलत दिशाबाट साइकल चलाएर आएको भन्दै आयुषले साहमाथि मुक्का हानेका थिए । प्रहरीका अनुसार उनीहरूबीच चिनजान केही पनि थिएन । साह कामबाट फर्किरहेका थिए । गलत दिशाबाट साइकल चलाएर आएको देखेपछि गाडी रोकेर आयुषले दौडिएर मुक्का हानेको देखिन्छ । साहको स्वास्थ्य अवस्था सामान्य छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google