काठमाडौं । देशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । दिउँसो पनि वर्षा हुनेछ । दिउँसो र राति केही स्थानमा भारी वर्षाको पूर्वानुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही वाग्मती, लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोसी र मधेस प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मतीलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा सम्भावना छ । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको विभागले बताएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google