काठमाडाैं । भारतको नयाँ दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्दै आएको अभियोगमा एक नेपाली दम्पतीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा स्याङ्जाको गल्याङ नगरपालिका- ७ ठेगाना भएका ३५ वर्षीय टीकाराम भण्डारी, उनकी श्रीमती ३१ वर्षीया अस्मिता भण्डारी, रिया वली भन्ने टीकाकुमारी वली रहेका छन् ।
विभिन्न होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट युवतीहरूलाई भारतको दिल्ली पुर्याएर आफैंले भाडामा लिएको अपार्टमेन्टमा वेश्यावृत्तिमा लगाउने गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले सोमबार कञ्चनपुरबाट पक्राउ गरेको हो । तीनै जनालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।