
काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । यादवलाई प्रहरीले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको हो । लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्री रहिसकेका यादवले रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवको नाममा १० माघ २०७० मा काटेको चेक अनादर भएको थयो । यादवले १२ लाख २८ हजार रुपैयाँ चेक काटेर दिए पनि पटक पटक बैंक जाँदा पर्याप्त मौज्दात नभएको देखिएपछि चेक अनादर (बाउन्स) भएको थियो ।
भुक्तानीका लागि चेक लिएका यादवले प्रहरीमा पूर्वमन्त्री यादवविरुद्ध चेक अनादरको उजुरी दर्ता गरेका थिए । उजुरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले यादवलाई आइतबार बाँकेको डुडुवा गाउँपालिकाको होलियाबाट नियन्त्रणमा लिएको हो ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा यादव बांके क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क) बाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । तत्कालीन जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित यादवले पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री एमाले नेता शंकर पोखरेललाई समर्थन गर्दै सरकारमा सहभागी भएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google