काठमाडौँ । अविरल वर्षापछि काभ्रेको माप्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध छ । गए रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक बगाएको छ । गएराति यो सडकमा बाढीले थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन नसकिएको उनले बताए ।
प्रहरी टोली तथा स्थानीयको पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको घलेले जानकारी दिए । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको छ ।
बेपत्ता रेनुकाकाे खाेजी कार्य जारी
यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता एक महिलाको बिहानैदेखि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । सोमबार साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी छन् । मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो ।
प्रहरीका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो । आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको प्रनाउ घलेले जानकारी दिए ।
सोमबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो । यस्तै आलु लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति पुगेको किसानहरुले बताएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google