
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग बिपी राजमार्ग पुनर्निर्माण गरिदिन आग्रह गरेकी छन् । आठौं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेका परराष्ट्रमन्त्री राणा र जापानी राज्यमन्त्री ताकुमाबीच सोमबार भेटवार्ता भएको हो ।
भेटवार्तामा परराष्ट्रमन्त्री आरजु राणाले नेपालमा गत सेप्टेम्बरमा आएको भीषण बाढीका कारण बिपी राजमार्गमा ठूलो क्षति पुगेकाले त्यसको पुनर्निर्माणका क्षेत्रमा आवश्यक सहयोगका लागि जापान सरकारसँग आग्रह गरेकी हुन् ।
यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालका लागि जापानी राजदूतसँग गत अक्टोबरमा आग्रह गरेको स्मरण पनि मन्त्री राणाले भेटका क्रममा जापानी राज्यमन्त्रीलाई गराएकी थिइन् । यस विषयमा अध्ययन गरेर अघि बढ्ने प्रतिक्रिया जापानी मन्त्री मियाजीले दिएका दिए ।
सो भेटका क्रममा नेपाल जापान सम्बन्धका विविध पक्षहरूका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री राणाले नेपालको एक प्रमुख दाता राष्ट्रका रूपमा जापानले लामो समयदेखि नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति मन्त्री ताकुमामार्फत् जापान सरकारलाई आभार व्यक्त गरेका थिए ।
साथै मन्त्री राणाले जापान सरकारलाई नेपालको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थलमा जापानबाट प्रत्यक्ष उडानका लागि पनि आग्रह गरेकी थिइन् ।
मन्त्री राणाले हाल काठमाडौं नारिता प्रत्यक्ष उडान रहेकामा जापानबाट भैरहवा उडान गर्न सकिएमा लुम्बिनी जाने जापानी नागरिकलाई सहयोग पुग्ने र यसबाट नेपाल र जापानका बीचमा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा मन्त्री राणाले राखेकी थिइन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google