उपनिर्वाचन : माओवादीले चितवन २ मा श्रेष्ठ, तनहुँ १ मा भट्टराई र बारा २ मा यादवलाई सघाउने

दर्पण दैनिक २० चैत्र २०७९,१२:५५
post

काठमाडाैं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचन हुन लागेका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने भएको छ । वैशाख १० मा हुने उपनिर्वाचनका लागि आज तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दर्ता हुँदैछ । तर, माओवादी केन्द्रले यी तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आफूले उम्मेदवार नउठाउने भएको हो ।

सत्ता गठबन्धन भएकाले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भन्दै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने निर्णय भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

चितवन २ मा माओवादीले कांग्रेसका जितनारायण श्रेष्ठलाई समर्थन गर्ने निर्णय गरेको माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताए । पार्टीले गठबन्धनका उम्मेदवार समर्थन गर्ने निर्णय गरेकाले उम्मेदवार नउठाएको उनले बताए ।

यस्तै, तनहुँ १ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेको माओवादी केन्द्र तनहुँका संयोजक मदन आलेले बताए । ‘अहिले केन्द्रबाट सत्ता गठबन्धनका उम्मेदवार भट्टराईलाई समर्थन गर्ने सर्कुलर आएको छ । त्यही अनुसार हामीले उम्मेदवार उठाउँदैनौँ,' उनले भने । तनहुँका माओवादी नेताहरूले पार्टीकै उम्मेदवार उठाउनुपर्ने भन्दै शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । 

माओवादीले तनहुँ १ मा चुनाव लड्न पार्टीका कोषाध्यक्ष श्रीराम ढकालसहित ओमकुमारी पौडेल, क्षितिज लामिछाने र सूर्यबहादुर गौलीको नाम सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मेदवारलाई सहयोग निर्देशन दिएपछि पछाडि हटेका हुन् ।  

यस्तै, बारा २ मा पनि माओवादी केन्द्रले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउनेछ । उक्त क्षेत्रमा यसअघि जसपा नै  विजयी भएकाले जसपाका उम्मेदवार यादवलाई सघाइने केन्द्रीय सदस्य उपाध्यायले बताए  । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९