
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् । दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने उनले विश्वास व्यक्त गरे ।
मंगलबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनीतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।’ अब नेपालको विकासका लागि स्थिर सरकार दिएर अघि बढ्नुपर्ने उनले बताए । स्थिर सरकारबाट मात्रै विकासका काम अघि बढ्ने उनको भनाइ छ ।
संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको उल्लेख गर्दै नेता कोइरालाले विपक्षी दलहरूसँग समेत छलफल भइरहेको बताए । संविधान परिवर्तन गर्दा कुन बुँदामा गर्ने हो भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।