काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले संसद्मा विगत दुई महिनादेखि राजनीतिक चलचित्र देखाइरहेको भन्दै कटाक्ष गरेका छन् । चलचित्र निर्देशकसमेत रहेकाले शाहले आजको प्रतिनिधिसभा बैठकमा निर्देशक को हो ? भन्दै प्रश्न गरे । 'हामीलाई विगत दुईमहिनादेखि राजनीतिक चलचित्र देखाइरहेको छ । यसका पटकथा कसले लेख्छ । यसका निर्देशक को हुन् ? राष्ट्रिय हुन् कि अन्तर्राष्ट्रिय हुन् ? जनजनले प्रश्न गरिरहेका छन्,' उनले भने ।
उनले आफू डामाडोल चलचित्र बनाउने तयारीमा रहेका बेला देश बनाउने हुटहुटीले आफू सदनमा आइपुगेको बताए । उनले संसद्मा नायक र खलनायक समेत स्पष्ट हुन नसकेको भन्दै कटाक्ष गरे ।
'यहाँ नायक को हो ? खलनायक को हो ? चिन्न गाह्रो भयो । अस्तिसम्म नायक देखिएका पात्र खलनायक देखिन थाले । खलनायक जस्ता देखिएका पात्र नायक देखिन थाले,' उनले पार्टी सभपाति रवि लामिछाने लक्षित गर्दै भने, 'एउटा हाम्रो पात्रलाई डाँडा कटाइएको छ । मानौं, फर्केर आउँदैनन् । हाम्रा पात्र फकिएर आउँछन् ।' नागरिकता विवादको फैसलामा लामिछानेले सांसद् पद गुमाएका थिए ।