काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके महानगरलाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गरेका छन् । बुधबार सिंहदरबार वैद्यखानाको ३०औँ वार्षिकोत्सव समारोहमा बोल्दै बालेनले यस्तो बताएका हुन् ।
उनले सिंहदरबार वैद्यखाना सरकारले पूर्ण रूपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने उल्लेख गरे । बिक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधि उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्याउन सकिने बताए ।
मेयर साहले देश किन डुब्यो भन्नेकुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने बताए । सरकारी ९० प्रतिशत उद्योगहरू लिजमा दिएर बेचिने गरेको उनको भनाइ छ । लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरूलाई डुबाइने गरेको बताए ।
०५८/५९ सालमा यहाँको बजेट पाँच करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट एक करोड पनि नरहेको उल्लेख गरे । सरकारले ५० करोड बजेट छुट्याए पनि कम हुने ठाउँमा बजेट नै नहुनु दुःखद् भएको बताए ।
सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने बालेनले बताए । मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्ने गरेको उल्लेख गरे । सरकारले हेरेका निकायहरू सबै डुबेको उदाहरण दिँदै मन्त्रालयले हेर्ने दृष्टिकोण सबैमा बराबरी रहेको बताए ।
'यो देश किन डुबेको भनेर हेर्न मन छ भने सिंहदरबार वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ, यो देश के कारणले डुब्छ ? यो देशमा के समस्या छ ? देशमा उत्पादन गर्ने विभिन्न सरकारी उद्योगहरू, सरकारले चलाएका विभिन्न उद्योगहरू कसरी डुब्छन् भन्नेकुरा ठ्याक्कै थाहा हुन्छ । यो सरकारले हाम्रो ९० प्रतिशत सरकारी निकाय कि त लिजमा दिइन्छ, लिजमा दिएर बेचिन्छ, लिजमा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ,' उनले भने ।