नेपाल विद्यार्थी संघले घेर्‍यो  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार

दर्पण दैनिक १० भाद्र २०८०,१४:१३
post

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा आइतबार बिहान बालुवाटार घेराउ गरिएको हो ।

सर्वसुलभ र गुणस्तरीय शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व हो भन्दै नेविसंघले इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने बताएको छ । शुल्क वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै नेविसंघका नेता सुलभ चापागाईँ पाँच दिनदेखि आमरण अनशनमा छन् । नेविसंघले उनको जीवन रक्षाको पनि माग गरेको छ ।

नेविसंघले सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने र इन्जिनियरिङ अध्ययन संस्थानले हालै गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने माग गरेको छ । त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने, सबै विश्वविद्यालयमा इन्टर्नसिप, रोजगारी सुनिश्चितता र रिसर्चको व्यवस्था गर्नुपर्ने पनि नेविसंघले माग गरेको छ ।

नेविसंघले विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषणा गर्नुपर्ने माग पनि गरेको छ । घेराउका क्रममा विद्यार्थीहरूले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल समेत भएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: