काठमाडाैं । चितवन कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सघाउने घोषणा गरेका छन् ।
पौडेलले आफ्नो समूहको समर्थन रविलाई गरेको बताए । ‘रविजीलाई उपनिर्वाचनमा समर्थन गरेका छौँ,’ पौडेलले भने, अब हामी हाम्रो समूह चुनावमा खटिन्छौँ ।’ साथै उनले रास्वपा क्रियाशील हुने संकेत पनि गरे ।
‘मैले कांग्रेसमा मेरो जवानी र लामो समय गुमाए,’ तर, मेरो क्षमता, योग्यतालाई पार्टीले अपमान गर्यो, मलाई कारवाही गर्यो, मेरो विगतका सबै योगदान शून्यको स्थितिमा पुर्यायो, मलाई थन्क्यायो,’ पौडेलले थपे, ‘अब परिवर्तनका लागि मेरो शक्ति, क्षमता र खाँचो रास्वपाले देख्यो, उहाँहरुले मेरो आवश्यक रहेको बताउनुभयो ।’ अहिले चुनावको लागि समर्थन गरेपनि भविष्यमा नयाँ यात्रा तय हुने उनले बताए ।
उनले नेपाली कांग्रेसले भरतपुर महानगरको चुनावमा टिकट नदिएको भन्दै असन्तुष्ट भएर बागी उम्मेदवारी दिएका थिए । तर, पराजित भएका थिए। यस्तै ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावमा पनि स्वतन्त्र उठेका थिए । सो क्षेत्रबाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणले पद गुमाएपछि उपनिर्वाचन हुन लागेको हो ।