काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अस्थिरताका कारक एमाले र राप्रपा भएको आरोप लगाएका छन् । सोमबार संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपाले सरकार छोडेर समर्थन फिर्ता लिएपछि आफूले दोस्रोपटक विश्वासको मत लिन लागेको बताएका हुन् ।
‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनको मेरो प्रस्ताव थियो । त्यसपछि एमाले र राप्रपाका मन्त्रीहरूले राजीनामा दिएसँगै सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि फेरि विश्वासको मत लिने अवस्था आयो,' उनले भने ।
प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने मन्त्रीले नै यसको जवाफ दिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले आफूले यति चाँडो संसदमा पुन: विश्वासको मत माग्नुपर्ने स्थिति आउला भनेर नसोचेको बताए ।
‘यति छिट्टै संसदमा दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आउला भनेर सोचेको थिइनँ । राजनीतिक स्थिरताको प्रतिबद्धतासहित सरकार बनाएका हौँ । सहयात्री सबै दलहरूले पनि संसदमा स्थायित्वको बाचा गरेका थिए,' उनले भने, 'तर, एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन उभिएको हुँ ।'