काठमाडौं । सांसद् गगनकुमार थापाले साना किसानको समस्या सम्बोधन गर्न सरकार मौन रहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद् थापाले साना किसानहरूलाई बैंकले अठ्याउँदा पनि सरकार टुलुटुलु हेरेर बसेको बताए ।
थापाले भने, ‘सयौंको संख्यामा साना किसान कृषि मन्त्रालय पुगेका छन् । सानासाना किसानले बैंकबाट ऋण ल्याए । सरकारकै निर्णयबाट वर्डफ्लुले कुखुरा नष्ट भयो । नियमअनुसार उनीहरूले ५८ करोड क्षतिपुर्ति दिनुपर्ने अहिलेसम्म दिएको छैन ।’
सरकारले पीडितलाई पैसा दिन्छु भन्दै आए पनि झुलाउने गरेको बताए। उनले भने, ‘सरकार दिन्न भन्दैन, सरकार झुलाउँछ । बैंकले उनीहरूलाई अठ्याउँछ। बैंकको ऋणले थिचिएका साना किसानहरूले कुनै अप्रिय निर्णय नगर्दा सम्म कुर्ने हो ? यस्तो निर्णय नहोस भनेर सरकारले दिनुपर्ने रकम दिनुपर्ने हो की ?’