सर्लाही । लायन्स अन्तर्राष्ट्रियको सप्ताहव्यापी सामाजिक सेवा कार्यक्रमअन्तर्गत सर्लाहीको हरिवनस्थित लायन्स क्लब काठमाडौं-सर्लाहीले तीनवटा कार्यक्रम सम्पन्न गरेको छ । यस अवसरमा बाँदरलाई आहारा खुवाउने तथा वन्यजन्तु संरक्षणमा योगदान गर्नेलाई सम्मान, गुम्बा सफाई र पिउने पानी वितरण गरिएको क्लबका अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए ।
सर्लाहीका मूर्तिया जंगलमा बाँदरलाई आहारा खुवाउनुका साथै वन्यजन्तुलाई माया गर्ने र पटकपटक खाना खुवाउने पूर्वप्रदेश सांसद तथा नेकपा एकीकृत समाजवादीका नेता डिल्लीप्रसाद उप्रेती, हरिवन उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र व्यवसायी शिवकृष्ण महाजुलाई प्रंशसा पत्रसहित सम्मान गरिएको क्लबले जनाएको छ ।
पूर्व रक्षामन्त्री एवं प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेतीले एक कार्यक्रमका बीच शनिबार उनीहरुलाई सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै उप्रेतीले बाँदरसहित वन्यजन्तु संरक्षण गर्ने कार्यले पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न बताए । यस क्रममा उनले कार्यक्रमको महत्त्व नै नबुझी बाँदरलाई आहारा खुवाउनेलाई सम्मान गरेछन् भनेर खिसीट्युरी नगर्नसमेत अनुरोध गरे ।
कार्यक्रममा पूर्वप्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले आफूले अहिलेसम्म बाँदरहरुलाई करिब १ लाख बराबरको आहारा खुवाएको जानकारी दिए । कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानसहित क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो ।
एक वर्षअघि हरिवनमा स्थापना भएको क्लबले विभिन्न रचनात्मक काम गरिरहेको छ । यसबीच क्लबले बागमती नगरपालिकाको धरहरामा रहेको ज्याङछुक छोइलिङ गुम्बामा सरसफाइ गरेको छ । क्लबले नयाँरोडमा यात्रुवाहक सवारीसाधनमा पिउने पानी वितरण पनि गरेको छ ।