काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरोमा परी मृत्यु भएका ललितपुरका ४६ जनाका परिवारलाई आर्थिक सहयोग गरेको छ । कांग्रेसले असोज १० देखि १३ सम्म परेको वर्षाका कारण गएको बाढीपहिरोमा परी मृत्यु भएका ललितपुरका ४६ जनाका परिवारलाई मंगलबार जनही २५ हजारका दरले आर्थिक सहयोग गरेको हो ।
सभापति शेरबहादुर देउवाले बाढीपहिरोबाट मृत्यु भएका देशभरका २५० जनाका आफन्तजन मध्ये पहिलो चरणअन्तर्गत ललितपुरका ४६ जनाका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको कांग्रेसले जनाएको छ ।
ललितपुरको गोदावरीमा रहेको वेलकम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेर कांग्रेसले उनीहरूलाई आर्थिक सहयोग गरेको हो ।
केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सहयोग तथा संयोजनमा सिन्धुपाल्चोकका स्थानीय तह बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकाले कांग्रेसलाई नगद सहयोग गरेका थिए ।
कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले विपद् व्यवस्थापन कोषमा संकलित २ लाख १५ हजार रुपैयाँ बागमती गाउँपालिका– ६ आश्रमको सुकुम्बासी बस्तीका पीडित परिवारलाई दिने निर्णय गरेको छ ।