कठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २१ जना सांसदले ऐक्यवद्धता जनाएका छन् । रास्वपाका सभापति रवि लामिछानेले आफूसहित आफ्ना पार्टीका २१ जना सांसद पुनको पक्षमा रहेको बताएका हुन् ।
शनिबार पुनको आन्दोलनमा सहभागी हुन माइतीघर पुगेका सभापति लामिछानेले आफ्ना २१ जना सांसद पुनको पक्षमा रहेको बताए । सभापति लामिछानेले भने, ‘हाम्रा २१ जना सांसद तपाईंसँग छन्, मैले आज यही उपस्थितिमा ऐक्यवद्धता जनाउँछौँ ।’
अनुसन्धान, नवप्रर्वतन र आविष्कारलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजन गर्न र नीति बनाउन माग गरी पुन शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा छन् । उनले राति माइतीघर मण्डलमै बिताएका थिए ।
पुनको दुई दिने धर्नालाई समर्थन गर्दै लामिछानेले राज्यले गर्नुपर्ने काम पुन एक्लैले गरिरहेको बताए । अन्तर्राष्ट्रिय स्तरमा पनि छवि बनाएका पुन सडकमा सुत्नपर्ने व्यक्ति नभएको भन्दै उनले यथाशीघ्र पुनसँग सरकारले वार्ता गर्नुपर्ने बताए ।